कालिकोट । कालीकोट जिल्लाको महावै गाउँपालिकाले पालिकाभित्रका सबै माध्यमिक विद्यालयका २ सय विद्यार्थीलाई करेसाबारी बनाउन सीप सिकाएको छ ।
सो गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालयमा यो कार्यक्रम संचालन गरिएको हो ।
कृषि पेसालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि गाउँपालिकाले पालिकाभित्रका तीन सामुदायिक विद्यालयमा ‘करेसाबारी कार्यक्रम’ सञ्चालन गरेको हो ।
यस कार्यक्रमबाट विद्यार्थीले स्थानीयस्तरमा पाइने अन्नको संरक्षण र ताजा तरकारी उत्पादनमा सीप आर्जन गर्न सक्छन् भन्ने विश्वास सामुदायिक विद्यालयहरुको छ ।
गाउँपालिकामा जम्मा १८ वटा विद्यालय छन् । त्यसमध्ये वडा नं ५ मा कालिका माध्यमिक विद्यालय महावै, वडा नं ६ मा रहेको चन्द्रागिरि माध्यमिक विद्यालय, राम्नी कोटबाडा र वडा नं ७ को राम माध्यमिक विद्यालय कुनीमा ‘एक घर एक करेसाबारी, एक घर पाँच बिरुवा’ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
ओदा फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रम महावै सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्यायन गर्ने विद्यार्थीका लागि लागू गरिएको छ ।
‘यस कार्यक्रमको उद्देश्य प्रत्येक घरमा स्थानीय बाली संरक्षण गर्ने, कम्तीमा पाँच प्रकारका तरकारी उत्पादन गर्ने र परिवारलाई पोषणयुक्त खानेकुरामा आत्मनिर्भर बनाउने हो । विशेषगरी यहाँका धेरै पुरुषहरू रोजगारीका लागि भारत जाने भएकाले घरमा रहेका महिला तथा बालबालिकालाई वर्षभरि ताजा तरकारी उपलब्ध होस् भन्ने हाम्रो लक्ष्य छ । त्यही लक्ष्यअनुसार अहिले हामीले विद्यार्थीसँग मिलेर काम गरिरहेका छौँ,’ ओदा फाउन्डेसनका अध्यक्ष कर्णबहादुर सिंहले भने ।
यतिखेर यहाँका कक्षा ८, ९ र १० का विद्यार्थी करेसाबारी व्यवस्थापन, नर्सरी स्थापना, बिरुवा उत्पादन तथा फलफूल र तरकारीखेतीका व्यावहारिक सीप सिकिरहेका छन् ।
गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले विद्यार्थीलाई वातावरण संरक्षण, विद्यालय करेसाबारी (स्कुल किचेन गार्डेन) तथा दिगो कृषिसम्बन्धी अभिमुखीकरणले उत्पादनमा लाग्न मद्दत पुग्ने बताए । यस कार्यक्रमबाट स्थानीय बासिन्दा तरकारी उत्पादनमा आत्मनिर्भर भएका उनको भनाइ छ ।
करेसाबारी कार्यक्रम सञ्चालन हुँदा विद्यालयमा सिकेको कृषि ज्ञानलाई घरमा आफ्ना अभिभावकलाई जानकारी गराउने र उक्त सीपले घरमा करेसाबारी निर्माण गरेर तरकारी फलाउने काम गरेको कालिका माध्यमिक विद्यालय–५ महावैमा कक्षा ९ मा अध्यायनरत छात्रा रमा काफ्लेले बताइन् ।
‘विद्यालयमा सिकेको कृषि ज्ञानलाई घरमा अभिभावकलाई सिकाउने गरेका छौँ । जसका कारणले अहिले घरमा ताजा तरकारी तथा अन्य कृषि बाली लगाउनका लागि सहज भएको छ,’ उनले भनिन् ।
युरोपका केही देशमा विद्यालय बगैँचाको अभ्यास सन् १८१९ देखि र अमेरिकामा सन् १८९१ बाट विद्यार्थीलाई व्यावहारिक कृषि तथा बगैँचासम्बन्धी सीप सिकाउन थालिएको थियो । त्यसयता विद्यालयमा तरकारी फलपूmल तथा पोषण शिक्षा जोड्ने उद्देश्यले करेसाबारी कार्यक्रम विश्वका धेरै देशमा फैलियो ।
नेपालमा भने विद्यालयस्तरमा करेसाबारी शिक्षा, विभिन्न समयमा कृषि शिक्षा, पोषण कार्यक्रम र विद्यालय बगैँचा कार्यक्रममार्फत विद्यार्थीलाई क्रमशः सीप सिकाइँदै लगिएको छ ।





