काठमाडौँ । कालिकोटको महावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइराला र शाखा अधिकृत खगेन्द्र बहादुर शाहीमाथि मध्यराति ठेकेदार यज्ञबहादुर शाहीले आक्रमण गरेका छन् ।
गाउँपालिकाका कर्मचारीहरुले सामूहिक विज्ञप्ति जारी गरि दिएको जानकारी अनुसार ठेकेदार शाहीले मध्यराति ढोका खोल्न लगाएर प्रमुख प्रशासकीय अधिकृत कोइराला र अधिकृत शाहीमाथि आक्रमण गरेका हुन् । आक्रमण गर्ने ठेकेदार शाही सोही गाउँपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीका प्रतिनिधि हुन्
‘प्रमुख प्रशासकीय अधिकृत शिवराज कोईराला र शाखा अधिकृत खगेन्द्र बहादुर शाही सुतिरहेको कोठामा प्रवेश गरी महावै गाउँपालिकाको प्रशासनिक भवन निर्माण योजनाको ठेक्काको जिम्मा लिएको निर्माण कम्पनीका प्रतिनिधि महावै गाउँपालिका वडा नं ४ निवासी बाजे कृष्ण बहादुर शाहीका नाती, बुबा सुरद बहादुर शाहीका छोरा, अन्दाजी वर्ष ३१ का यज्ञ बहादुर शाहीले निज कार्यालय प्रमुख र शाखा अधिकृत सुतिरहेकै कोठाको ढोका खोल्न लगाई नियतवस अचानक कार्यालय प्रमुख माथि गरिएको कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति हामी महावै गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख, आक्रोश तथा गम्भीर चिन्ता व्यक्त गर्दछौं,’ कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा सरकारी जिम्मेवारी निर्वाह गरिरहेका लेखा शाखा प्रमुखलगायत अन्य राष्ट्रसेवक कर्मचारीमाथि गरिएका धम्की, दुर्व्यवहार, हिंसात्मक, अमानवीय र कानुन विपरीत कार्यले केवल एक व्यक्तिमाथिको आक्रमण मात्र नभई सम्पूर्ण सार्वजनिक प्रशासन, राष्ट्रसेवा, विधिको शासन तथा सुशासन माथिको चुनौतीका रूपमा आफूहरुले लिएको उल्लेख गरिएको छ ।
‘यस्तो घटनाले कर्मचारीहरूको जिउधनको सुरक्षा, मनोबल तथा निर्भय भएर सेवा प्रवाह गर्ने वातावरणमाथि गम्भीर प्रश्र उठाएको छ । यस प्रकृतिका घटनाहरु बारबार दोहोरिएकाले महावै गाउँपालिकामा कार्यरत कर्मचारीहरू असुरक्षित महसुस गर्न बाध्य भएका छौं। कर्मचारीको ज्यान, सुरक्षा र सम्मानको प्रत्याभूति नभएको अवस्थामा निष्पक्ष, प्रभावकारी र गुणस्तरीय सार्वजनिक सेवा प्रवाह गर्न अत्यन्त कठिन हुने अवस्था सिर्जना भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारी सेवामा खटिएका कर्मचारीलाई धम्की, दबाब, कुटपिट वा हिंसाको माध्यमबाट प्रभाव पार्ने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य, कानुनी शासन र सुशासनको मर्म विपरीत रहेको भन्दै कर्मचारीहरुले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय तथा नेपाल सरकार समक्ष जोडदार रुपमा कडा कानूनी कारवाहीको माग गरेका छन् ।
‘सुरक्षित कार्य वातावरण, कानुनी संरक्षण र दोषीमाथि कडाभन्दा कडा कारबाहीको सुनिश्चितता नभएसम्म कर्मचारीहरू त्रासपूर्ण अवस्थामै सेवा प्रवाह गर्न बाध्य हुने स्थिति रहने भएकाले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं। हामी विधिको शासन, सार्वजनिक प्रशासनको मर्यादा, सुशासन र नागरिक प्रतिको जिम्मेवारी प्रति पूर्ण प्रतिबद्ध छौं तर कर्मचारीको ज्यानको सुरक्षा र सम्मानको प्रत्याभूति राज्यको प्राथमिक दायित्व भएको कुरामा सबै सरोकारवालाको ध्यानाकर्षण गराउँदै दोषीमाथि कानुन बमोजिम कडा कारबाही र सुरक्षित कार्य वातावरणको सुनिश्चितता नभएसम्म र फरार व्यक्तीलाई तत्काल पक्राउ गरि कानुन बमोजिम कडाभन्दा कडा कारबाही नगरेसम्मका लागि महावै गाउँपालिका मातहतका कार्यालयको अत्यावश्यक बाहेकका सेवाहरु समेत बन्द गरि सामुहिक रुपमा सम्बन्धित निकायसँग पुनः जोडदार माग गर्दछौं,’ व्यक्तिमा भनिएको छ ।






