काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ का लागि ५ सय ८६ जनालाई मनोनयन गरेको छ ।
अन्तिम मनोनयनका लागि ३ हजार २ सय ९७ जनाको आवेदन प्राप्त भएको महानगरले जानकारी दिएको छ ।
मनोनयन भएकामध्ये शिक्षा विषयका लागि २ जना, मानविकीमा ६ जना, कानुनमा २३ जना, व्यवस्थापनमा २७३ जना र विज्ञानमा २८२ जना विद्यार्थी मनोनयन हुने भएको शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।
विद्यार्थीले आवेदन गर्दा विषय र शिक्षण संस्था छनोट नगरेका विद्यालयहरुमा अझै पनि १ हजार कोटा खाली छ । परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले विद्यार्थीको आवश्यकताका आधारमा खाली कोटामा विद्यार्थीहरुलाई भर्नाका लागि शिफारिस प्रदान गर्न सकिने जानकारी दिए ।
शिक्षा अधिकृत प्रल्हाद खतिवडाका अनुसार पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका र अन्तिम मनोनयन (र्यापअप) मा समावेश हुन चाहेका परीक्षार्थीहरूलाई विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनोट गर्न असार ४ गते विहान १० बजेदेखि ८ गते साँझ ५ बजेसम्मको अवधि दिइएको थियो ।
यस अवधिमा प्राप्त भएका आवेदनमा शिक्षा विषयका लागि २ जना, मानविकीका लागि ६ जना, कानुनका लागि ४४ जना, व्यवस्थापनका लागि ३२७ जना, विज्ञानका लागि २ हजार ९१८ जना विद्यार्थी छन् । यसमा १ हजार १४२ जना छात्रा, २ हजार १५४ जना छात्र र १ जना अन्य रहेका महानगरले जानकारी दिएको छ ।
मनोनयनमा परेका विद्यार्थीहरुले असार ११ गतेभित्र तोकिएको शिक्षण संस्थामा भर्ना भइसक्नुपर्नेछ ।
यस वर्षका लागि महानगरपालिकाभित्रका १४५ वटा शिक्षण संस्थामा ४ हजार ८५७ कोटा निर्धारण गरिएकोमा निर्धारित कोटामध्ये पहिलो मनोनयन सूचीबाट ३ हजार ५१ जना विद्यार्थी, दोस्रो सूचीबाट २३० जना जना गरी ३ हजार २८१ जना विद्यार्थी भएपछि बाँकी रहेका १ हजार ५७६ कोटाका लागि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न अवसर प्रदान गरिएको थियो ।
काठमाडौँ महानगरपालिकाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ् लिष्टबाट ३ हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भए । छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट पहिलो मनोनयन सूची (म्याचिङ् लिष्ट) मा ३ हजार ७३५ विद्यार्थी थिए । यी विद्यार्थीलाई जेठ २७ गतेभित्र भर्ना भइसक्न समय दिइएको थियो ।
यीमध्ये १ हजार ९०१ जना बिज्ञान विषयमा, व्यवस्थापनमा १ हजार १११ जना, कानुनमा ३४ जना र मानविकीमा ५ जना विद्यार्थी भर्ना भएका हुन् । यसरी भर्ना भएका विद्यार्थीहरुको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा परीक्षा समितिले म्याचिङ् लिष्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन गर्यो ।
शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार दोस्रो सूचीमा विज्ञान विषयका लागि ३२३ जना, व्यवस्थापन विषयका लागि १४५ जना, कानुनका लागि १५ जना, मानविकीका लागि १ जना र शिक्षाका लागि २ जना विद्यार्थीको नाम शिफारिस भएका थिए । यसमध्ये २३० जना विद्यार्थी भर्ना भए ।
छात्रवृत्ति छनोटका लागि जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची र २१ गते अन्तिम सूची प्रकाशित भएको थियो । १८ गतेदेखि २० गते सम्म पुनर्योग र विवरण सच्याउन समय दिइएको थियो । यस अवधिमा ३३१ जना परीक्षार्थीबाट पुनर्योगका लागि आवेदन परेको थियो । यीमध्ये ओएमआर उत्तरपुस्तिकालाई कम्प्युटर प्रणाली र म्यानुअल गरी दुवै विधिबाट परीक्षण गरिएको थियो ।





