कृषि मन्त्री चौधरी भन्छिन्– धान उत्पादन बढाउन प्रविधि र सहकार्य अपरिहार्य

 

काठमाडौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको बताएकी छन् ।

२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले यस वर्षको “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि“ भन्ने नाराले वर्तमान कृषि क्षेत्रको आवश्यकता र चुनौतीलाई सम्बोधन गरेको उल्लेख गरिन् ।

उनले धान नेपालीहरूको प्रमुख खाद्यबाली मात्र नभई धर्म, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण बाली भएको बताउँदै स्थानीय तथा जंगली धानका जातको संरक्षण, संवद्र्धन र उपयोगले जैविक विविधता, जलवायु सहनशीलता तथा दीर्घकालीन खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरिन् ।

मन्त्री चौधरीले धान तथा चामलको आयात घटाउन वर्षे र चैते धानको क्षेत्रफल विस्तार, उन्नत जातको विकास, प्रविधि हस्तान्तरण, सिँचाइ सुविधा विस्तार, उत्पादन सामग्रीमा सहज पहुँच तथा मूल्य सुनिश्चिततालाई प्राथमिकता दिनुपर्ने जनाइन् । साथै स्थानीय तथा जंगली धानका जातको पहिचान, संकलन, संरक्षण र जलवायुमैत्री जात विकासमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update