उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्ने विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयलाई महानगरको पुरस्कार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने सामुदायिक विद्यालयका विद्यार्थी, नतिजा प्रदान गर्ने शिक्षक र विद्यालयलाई छुट्टाछुट्टै नगदसहित पुरस्कार प्रदान गरेको छ ।

यस्तै, संस्थागत विद्यालयहरुलाई सम्मान प्रदान गरेको छ । 

काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजना गरिएको कार्यक्रममा शैक्षिक सत्र २०८२ मा प्राप्त नतिजाका आधारमा कार्यवाहक मेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनसहित अधिकारीहरुले सम्मान प्रदान गरेका हुन् ।

त्यस क्रममा बोल्दै कार्यवाहक मेयर डंगोलले, सामुदायिक शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार विकास, जनशक्ति तथा मानव स्रोत व्यवस्थापनमा लगानी बढाएको बताइन् ।

‘बालबालिकाहरुमा भएको अन्तरनिहीत क्षमता चिनाउने शिक्षकहरुको गुण अतुलनीय छ । म योग्य छु, म गर्न सक्छु भन्ने भावलाई  तिमी योग्य छौँ । गर्न सक्छौ, भनेर अनुभूति गराउनु, जीवनप्रति प्रोत्साहित गराउनु महत्वपूर्ण कुरा हो । । यो महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका शिक्षकहरुलाई मर्यादित पेशा प्रदान गर्न महानगरपालिका सदैव तत्पर छ,’ उनले भनिन् ।

कार्यक्रममा शिक्षा तथा स्वास्थ्य समितिका संयोजक महर्जनले समाजमा विद्यमान आर्थिक सामाजिक असमानतालाई समान बनाउने क्षमता शिक्षामा मात्र रहेको भन्दै समतामूलक समाज निर्माणका लागि महानगरले लगानी बढाउँदै लगेको बताए ।

शिक्षा विभाग प्रमुख नमराज ढकालका अनुसार सम्मान कार्यक्रम २०७९ सालबाट रोकिएको थियो । यसलाई यस वर्षदेखि निरन्तरता दिइएको हो । आगामी वर्षदेखि कक्षा १२ सम्मका विद्यालय, शिक्षक र विद्यार्थीलाई पुरस्कार र सम्मानमा जोड्ने तयारी महानगरको छ ।

कार्यक्रममा, आर्थिक वर्ष २०८२/०८३ मा अनिवार्य अवकाश हुने ५० जना शिक्षकशिक्षिकलाई सम्मानित गरियो । सम्मानित हुने शिक्षकहरुका तर्फबाट धारणा राख्दै नारायण नेपालले आफ्नो धारणा राखेका थिए ।

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयबाट ४ जीपीए प्राप्त गर्ने २९ जना विद्यार्थीलाई जनही २५ हजार रुपैयाँसहित सम्मानित गरियो । यस वर्ष ज्ञानोदय माध्यमिक विद्यालयबाट २१ जना, विश्वनिकेतन माविबाट ३ जना, रत्नराज्य मावि र तरुण माविबाट २–२ जना र शिवपुरी माविबाट १ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।

पुरस्कार थापेपछि ज्ञानोदय माविबाट एसईई ग्रेडेड विद्यार्थी सुदर्शन थापाले, महानगरपालिकाको आडमा विद्यालयले सञ्चालन गरेका कार्यक्रमबाट आफूहरुले उत्कृष्ट नतिजा प्राप्त गरेको धारणा राखे ।

यस वर्षको एसईई परीक्षामा शतप्रतिशत विद्यार्थीलाई ग्रेडेड गर्ने बाल सेवा मावि झोँछेँ, बाल व्यावसायी केन्द्र मावि सिफल, श्रम राष्ट्रिय मावि कुमारीगाल र केन्द्रीय बहिरा मावि नक्साललाई नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरियो ।  

यसैगरी एसईईमा उत्कृष्ट नतिजा प्रदान गर्ने विषयगत शिक्षक सम्मान अन्तर्गत अनिवार्य विषयका ५ जना र ऐच्छिक विषयका ४ जना गरी ९ जनालाई जनही २५ हजार रुपियाँसहित पुरस्कृत गरियो । यसरी पुरस्कृत हुने शिक्षक शिक्षिकाहरुमा अंग्रजी विषयमा ज्ञानोदय माविका सुस्मा ढकाल, नेपाली विषयमा ज्ञानोदय माविकै विष्णु घिमिरे रिमाल, गणित विषयमा विश्व निकेतन माविका डिल्लीराम पौडेल, विज्ञान विषयमा महेन्द्र बौद्ध माविका बालेश्वर शाह छन् । 

यस्तै ऐच्छिक विषयतर्फ गणित विषयमा जनजागृति ज्ञानरश्मि माविका दिपक थापा मगर, अर्थशास्त्रमा महेन्द्र बौद्ध माविका भावना भट्टराई, कार्यालय सञ्चालन तथा लेखा विषयमा जनजागृति ज्ञानरश्मि माविका डिना सिखाकार र कम्प्युटर विज्ञानमा ज्ञानोदय मावि वाफलका सुशिल तामाङ छन् ।

यस वर्षको एसईईमा सबैभन्दा बढी औसत स्तरीकृत अंक प्राप्त गर्ने ३ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयलाई सम्मान प्रदान गरियो । यसमा सामुदायिकतर्फ ३.२९ अङ्क प्राप्त गर्ने ज्ञानोदय मावि ३.२९ अङ्क प्राप्त गर्ने तरुण मावि र ३.२३ अङ्क प्राप्त गर्ने विश्व निकेतन माविलाई पहिलो, दोस्रो र तेस्रो स्थानका लागि क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपियाँ सहित पुरस्कृत गरियो । शिक्षा नियमावलीमा कुनै सामुदायिक विद्यालयले ५० जनाभन्दा धेरै विद्यार्थीलाई एसईई परीक्षामा सहभागी गराएर कम्तीमा ८५ प्रतिशत विद्यार्थीलाई ग्रेडेड गराए पुरस्कृत गर्न सकिने व्यवस्था छ । यही व्यवस्था अनुसार विद्यालयहरुलाई पुरस्कृत गरिएको हो । 

संस्थागत विद्यालयतर्फ ३.९ औसत स्तरीकृत अंक प्राप्त गर्ने विजकिड एकेडेमी, ३.७८ अङ्क प्राप्त गर्ने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय र ३.७६ अङ्क प्राप्त गर्ने मेरिडियन इन्टरनेशनल स्कूललाई तेस्रो स्थानका लागि सम्मान प्रदान गरियो । 

सम्मान कार्यक्रममा २०८२ सालको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा सबैभन्दा बढी औसत स्तरीकृत अङ्क प्राप्त गर्ने ३ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरियो । सम्मान प्राप्त गर्ने संस्थागत विद्यालयहरुमा ३.७५ औसत स्तरीकृत अङ्क प्राप्त गर्ने विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, ३.६६ प्राप्त गर्ने काञ्जीरोवा नेशनल स्कूल र ३.६२ अङ्क प्राप्त गर्ने निसर्ग बाटिका स्कूलाई सम्मान प्रदान गरियो । 

यस्तै सामुदायिक विद्यालयतर्फ ३.४२ अङ्क प्राप्त गर्ने विश्व निकेतन मावि, ३.३६ अङ्क प्राप्त गर्ने पद्मोदय मावि र ३.३४ अङ्क प्राप्त गर्ने भानु माविलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरियो ।  

परीक्षामा उत्कृष्ट नतिजा प्रदान गर्ने सामुदायिक विद्यालयका विषय शिक्षकहरुलाई जनही २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको महानगरले जानकारी दिएको छ ।

यसरी पुरस्कार प्राप्त गर्नेमा नेपाली विषयतर्फ भानु मावि रानीपोखरीका यशोदा न्यौपाने, अंग्रेजी विषयमा पद्मोदय माविका पाण्डवराज अर्याल, गणित विषयमा विश्व निकेतन माविका शिव खतिवडा, विज्ञान विषयमा कन्या मन्दिर माविका दिपक विक, सामाजिक विषयमा पद्मोदय माविका देवेन्द्रकाजी तिवारी, स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयमा विश्व निकेतन माविका राजन ढकाल र नेपाल भाषामा कन्या मन्दिर माविका सुलोचना महर्जन छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update