काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिएक छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभागलगायत मन्त्रालयअन्तर्गतका विभाग तथा निकायका प्रमुखसँग भएको छलफलमा उनले वर्तमान सरकारप्रति विशेषगरी युवा पुस्ताको भरोसा रहेकाले त्यसअनुरूप परिणाम देखिने गरी काम गर्नुपर्ने बताएकी हुन् ।
त्यसका लागि आवश्यक पर्ने कानुनी एवं नीतिगत व्यवस्था गर्न आफू तत्पर रहेको पनि उनले जनाइन् ।
मन्त्री चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिनाभित्र आफ्नो मातहतबाट कति युवालाई रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने विस्तृत विवरण तथा कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिइन् ।
कार्यान्वयनमुखी र परिणाममुखी ढङ्गले काम गर्न आग्रह गर्दै कृषि, वन तथा पर्यावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा मन्त्री चौधरीको जोड छ ।
विभागीय प्रमुखहरूले देशभर रहेका आफ्ना कार्यालयमार्फत हाल पनि पारिश्रमिकसहित तथा पारिश्रमिकविहीन प्रशिषण र स्वयंसेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका थिए ।
विभिन्न विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीलाई ‘इन्टर्नशिप’मा सहभागी गराउने प्रयास भइरहेको भए पनि केही कानुनी व्यवस्थाका कारण त्यसो गर्न नसकिएको उनीहरुले बताएका थिए । रासस






