माङसेबुङ गाउँपालिकाले १ करोड १७ लाख लागतमा बनाएको ८ पक्की कुलोले ल्याएको किसानको खुसी

 

इलाम । इलाम जिल्लाको माङसेबुङ गाउँपालिका–२ मालबाँसेका किसान चन्द्रबहादुर राना मगरलाई यस वर्ष धानखेती गर्न समस्या छैन । 

वर्षौंदेखि आकासे पानीको भरमा धानखेती गर्दै आएका चन्द्रबहादुरलाई यस वर्षदेखि पुरानो समस्याबाट मुक्त भएका छन् । साना सिँचाइ कार्यक्रममार्फत गाउँमा पक्की कुलो निर्माण भएसँगै मालबाँसेका किसानको मुहारमा खुसी छाएको छ ।

‘विगतमा आकासे पानीको पर्खाइमा नै बित्ने गर्दथ्यो, यस वर्षदेखि सुरुमा नै सिँचाइ सुविधा विस्तार भएपछि त्यो बाध्यताबाट मुक्ति पाइयो । मसहित यहाँका ५० बढी किसानलाई पुरानो पीडाबाट मुक्ति मिलेको छ,’ योजना उपभोक्ता समिति अध्यक्ष रहेका चन्द्रबहादुरले भने ।

मालबाँसेमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माण भएपछि मगरसहित ५० बढी किसानहरु यतिबेला खुसी भएका हुन् । उनको टोलमा ३० लाख ३६ हजारको लागतमा ट्वाङ्ग्रे खोलाबाट ट्वाङ्ग्रे–बालबाँसे सिँचाइ कुलो निर्माण भएको हो । कुलो निर्माणसँगै वर्षौंदेखि आकासे पानी पर्खनुपर्ने झण्झटबाट मुक्त भएसँगै मालबाँसेका किसान खुसी भएका हुन् ।

माङसेबुङ–५ का किसान टीकाराम केरुङ पनि खुसी छन् । स्थानीय मेवा खोला सिँचाइ योजनाबाट पक्की कुलो निमर्ण भई खेतमा टनाटन पानी आउन थालेपछि केरुङसहित सो वडाका सबैजसो किसान खुसी भएका हुन् । पानीको अभावमा खेत बाँझै राखेर बस्न विवश मेवा टोलका किसानलाई सिँचाइ आयोजनाले ठूलो राहत मिलेको केरुङले बताए ।

मगर र केरुङ प्रतिनिधि उदाहरण मात्र हुन् । माङसेबुङका चार वडामा सञ्चालित आठ वटा साना सिँचाइ कार्यक्रमबाट त्यहाँका सयौँ किसान उत्साहित भएका छन् । बाँझो रहेको खेतखेतमा सिँचाइ सुविधा पुगेपछि किसान उत्साहित छन् । 

आर्थिक वर्ष २०८२/०८३ मा माङसेबुङमा एक करोड १७ लाख ४१ हजार ७११ को लागतमा मर्मतसम्भारसहित आठ वटा पक्की कुलो निर्माण सम्पन्न भएका छन् । 

गत वर्ष निर्माण सुरु भई अधुरो रहेको वडा नं ४ स्थित रतुवाखोला–बाघमारा–सिङफेरे–मार्चेबुङ सिँचाइ योजना यस वर्ष १० लाख ४५ हजार ३९ रुपैयाँको थप लागतमा सम्पन्न भएको छ । त्यस्तै वडा नं ५ मा २४ लाख ९१ हजार ८१२ रुपैयाँको लागतमा मेवाखोला सिँचाइ योजना निर्माण सम्पन्न भएको छ ।  

त्यस्तै गएको असोज १८ गतेको आरीघोप्टे वर्षासँगै आएको बाढीले क्षतिग्रस्त पाँच वटा सिँचाइ योजना मर्मतसम्भार सम्पन्न भएका छन् । माङसेबुङ गाउँपालिका साना सिँचाइ योजना फोकल पर्सन अधिकृत छैटौँ (इन्जिनियर) युवराज दाहालका अनुसार बाढीले क्षतिग्रस्त वडा नं १ मा  १५ लख ७९ हजार ६०३ रुपैयाँको लागतमा हाङमायक सिँचाइ योजनाको मर्मतसम्भार सम्पन्न भएको छ । वडा नं २ मा आठ लाख ६८ हजार ४९२ रुपैयाँको लागतमा लाम्पाते सिँचाइ योजना, पाँच लाख १८ हजार ४६७ रुपैयाँको लागतमा आहाले–दोभान–साजबोटे–सातबिसे सिँचाइ योजना, १५ लाख १० हजार २९० रुपैयाँको लागतमा मूलकुलो सिँचाइ योजना र छ लाख ९१ हजार ९५३ रुपैयाँको लागतमा फेवा विकासे सिँचाइ योजनाको मर्मतसम्भार सम्पन्न भएको फोकल पर्सन दाहालले जानकारी दिए ।

माङसेबुङको ग्रामीण क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएसँगै किसानहरुले समय अनुसारका अन्नबाली तथा तरकारी बाली उत्पादन गर्न थालेका छन् । यतिबेला किसानको दैनिकी समेत फेरिएको छ ।

‘पहिले पहिले सिजनमा धान रोप्नका लागि आकासे पानी पर्खनुपर्ने बाध्यता थियो, समयमा पानी नपर्दा खेत बाँझै समेत राख्नुपर्ने बाध्यता थियो । पक्की कुलोबाट पानी आउन थालेपछि अहिले ढुक्क भएको छ, अब आकासे पानी पर्खिरहनुपर्ने बाध्यताबाट मुक्त भएका छौँ,’ माङसेबुङ गाउँपालिका–४ का सिङफेरेका किसान गजेन्द्र राईले विगतलाई स्मरण गर्दै भने ।

योजनाबाट माङसेबुङका करिब चार हजार रोपनी क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको फोकल पर्सन दाहालले बताए । सिँचाइ सुविधा विस्तारसँगै यहाँका ५०० बढी घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित भएका छन् । योजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०/२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी गरेको थियो । 

सिँचाइ विस्तार भएसँगै माङसेबुङमा रैथाने अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा छ । 

‘स्थानीय समुदाय र उपभोक्ता लागेर आयोजनाहरुको संरक्षण र सम्वद्र्धनमा ध्यान दिन सकेमा आयोजनाले दिगोपना त पाउँछन् नै, उत्पादन र उत्पादकत्वमा समेत वृद्धि हुनेछ,’ फोकल पर्सन दाहालले भने ।

माङसेबुङमा धान, मकै, कोदो, फापर, गहुँलगायत अन्नबाली, अलैँची, अदुवा, कफी, आलु, अम्रिसोजस्ता नगदेबाली तथा टमाटर, अकबरे, मूला, काउली, कोपी, बन्दा, सिमीजस्ता तरकारी बालीको व्यावसायिक खेती हुँदै आएको छ ।

युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायीकरणबाट आयआर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा माङसेबुङसहित जिल्लाका विभिन्न पालिकामा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update