गोल्डस्टारको प्रिआइपिओ बेच्दै धितोपत्र बोर्डबाट स्वीकृति नै नलिएको कम्पनी, मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समेत रहेकी विदुषी राणाको कम्पनी गोल्डस्टारको प्रिआइपिओको खरिदविक्री तीब्र रुपमा भइरहेको पाइएको छ ।

पुँजी बजारको नियामक निकाय धितोपत्र वोर्डबाट स्वीकृति लिएर आइपिओ जारी गर्ने वा आइपिओ जारे गरेपछि दोस्रो बजारबाट सेयर खरिद विक्री गर्ने स्वभाविक प्रक्रिया भएपनि प्रिआइपिओ जारी गर्नु गैरकानुनी कार्य हो । 

यद्यपि, प्रालिको हकमा कम्पनी रजिष्टार कार्यालयबाट र पब्लिक कम्पनीको हकमा नेपाल स्टक एक्सचेन्जको ओटिसी काउन्टरबाट सेयर खरिद विक्री गर्न पाइन्छ । यसरी सेयर खरिद विक्री गर्नको लागि सेयर बेच्ने र किन्ने व्यक्तिबीच चिनजान हुन्छ । तर, गोल्डस्टारको सेयर भने प्रिआइपिओ भनेर प्रतिकित्ता ३२५ रुपैयाँमा विक्री गर्न बजारभर फर्म उपलब्ध छन् ।

यस्तैमध्येको एउटा फर्म वडापालिकालाई प्राप्त भएको छ । सो फर्ममा ‘गोल्ड स्टार स्ट्राइड लिमिटेड (संस्थापक शेयर आवेदन फाराम)’ उल्लेख गरिएको छ । फर्ममा गोल्डस्टार कम्पनीलाई सम्बोधन गरिएको छ भने सेयर मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ । हामीलाई प्राप्त भएको फर्ममा बैंक खाता नम्बर र नाम देवश्री भेन्चर प्रालिको छ । 

सो फर्म भरेर सेयर खरिद गर्न चाहने व्यक्तिले नागरिकता र राष्ट्रिय परिचयपत्रको प्रतिलिपी, प्यानकार्डको प्रतिलिपी, इच्छाइएको व्यक्तिको नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपी र रकम भुक्तानी गरेको रसिद बुझाउनु पर्ने फर्ममै उल्लेख गरिएको छ ।

कसरी तय भयो ३२५ रुपैयाँ ?

कुनै पनि कम्पनीको सेयर खरिद विक्री गर्नको लागि सेयरको मूल्य कायम हुन्छ । दोस्रो बजारमा कारोबार हुने कम्पनीको सेयर मूल्य माग र आपूर्तिका आधारमा बजारले तय गर्छ भने कम्पनी रजिष्टारको कार्यालयमा कारोबार हुने प्रालि र नेप्सेको ओटिसी बजारमा कारोबार हुने पब्लिक कम्पनीको सेयर मूल्य भने किन्ने र बेच्नेबीचको आपसी समझदारीमा तय हुन्छ । तर, अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको गोल्डस्टारको प्रिआइपिओको मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ कसरी तय भयो भन्ने यकिन हुन सकेको छैन ।

गोल्डस्टारका कम्पनी सचिव कृष्ण पाल कम्पनीले आइपिओ जारी नगरेको र आइपिओ जारी गर्नको लागि मूल्य तय पनि भइनसकेको बताए । यद्यपि, रणनीतिक साझेदारहरुको लागि प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रस्ताव गरेर कम्पनीले साधारणसभा बोलाउन लागेको उनले जानकारी दिए ।

गोल्डस्टार कम्पनीको प्रिआइपिओको मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ कसरी तय भयो भनेर हामीले सेयर विक्रीको लागि वेबसाइटमै फर्म राखेर आव्हान गरिरहेको देवश्री भेन्चर प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनिष सिटौलासँग सोधका छौं । उनले भेन्चरसँग भएको गोल्डस्टारको सेयर भेन्चरको सम्पत्ति भएको र आफूहरुले सम्पत्तिको मूल्य तय गरेको बताए । यस्तै, गोल्डस्टार कम्पनीले आइपिओको मूल्य ३२५ रुपैयाँ प्रतिकित्ताको वरिपरी हुने जानकारी दिएकोले सो मूल्य कायम गरिएको पनि बताए ।

देवश्री भेन्चर प्रालिको अध्यक्ष नरप्रसाद सिटौला (नारायण) छन् भने डा. सुरेन्द्र कुमार सिटौला डाइरेक्टर छन् । मनिष सिटौला सो प्रालिको सिइओ छन् ।

सिइओ सिटौलाले देवश्री भेन्चरले धितोपत्र बोर्डबाट स्वीकृति लिएर व्यवसाय गरेको दाबी गरे । तपाईंहरुको भेन्चर धितोपत्र बोर्डमा दर्ता भएको छ भन्ने वडापालिकाको प्रश्नमा सिइओ सिटौलाले भने– ‘कस्तो कुरा गर्नुहुन्छ ? धितोपत्र वोर्डमा दर्ता नभएको कम्पनीले यस्तो काम गर्छ ?’

तर, धितोपत्र वोर्डले दिएको जानकारी अनुसार देवश्री भेन्चर प्रालि बोर्डमा दर्ता छैन । वोर्डका निर्देशक तोलाकान्त न्यौपानेले ‘देवश्री भेन्चर प्रालि नामको कम्पनी धितोपत्र बोर्डमा दर्ता नभएको’ बताए । न्यौपाने धितोपत्र बोर्डको सहप्रवक्ता हुन भने उनी वोर्डको लाइसेन्स विभागका कार्यरत छन् ।

कसरी चल्छ प्रिआइपिओको धन्दा ?

अहिले बजारमा प्रिआइपिओको नाममा कम्पनीको सेयर खरिद विक्री गर्ने धन्धा नै चलेको छ । लगानी गर्न सक्ने व्यक्तिहरुलाई नचिनेका व्यक्तिहरुले सामाजिक संजाल मार्फत सम्पर्क गरी फलानो कम्पनी राम्रो छ, आइपिओमा जान लागेको छ, यति मूल्यमा आजै किन्नुस भन्ने प्रकारका अफर र दवाव आइरहेका सम्बन्धित व्यक्तिहरुले बताएका छन् ।

अहिले प्रिआइपिओको लागि बजारमा दुईथरी प्रबृत्ति छ । कम्पनी ऐनमा भएको जारी पुँजी र चुक्तापुँजी बीचको अन्तरमा खेलेर सेयर विक्री गर्ने एकथरी प्रबृत्ति छ भने आइपिओ आउँदैछ भन्ने हल्ला गरेर आफूसँग भएको संस्थापक सेयर विक्री गर्ने अर्काेथरी प्रबृत्ति छ । जारी पुँजी र चुक्तापुँजी बीचको अन्तरमा खेलेर प्रिआइपिओ विक्री गर्दा अंकित मूल्य बराबरको रकम कम्पनीमै रहने भएकोले आफूसँग भएको संस्थापक सेयर विक्री गर्ने प्रवृत्ति व्यापक बनेको छ ।

कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गर्दा कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी गरी ३ प्रकारको पुँजी उल्लेख गर्नुपर्छ । यो व्यवस्था पब्लिक र प्राइभेट दुबै कम्पनीको लागि हो ।

अधिकृत पुँजी भनेको कम्पनीको सबैभन्दा बढी कति पुँजी हुन्छ भनेर कम्पनीका संस्थापकहरुले तय गर्ने पुँजी हो भने जारी पुँजी भनेको सो अधिकृत पुँजीमा निश्चित अवधिसम्ममा कति पुँजी पुर्याउने भने तय गरिएको पुँजी हो । चुक्ता पुँजी भनेको सेयरधनीहरुले कम्पनीमा रकम हालेर सेयर लिइसकेको पुँजी हो । चुक्ता गरिसकेको पुँजी हो ।

खेल यहीनेर हुन्छ । कम्पनीको जारी पुँजीअनुसार चुक्ता पुँजी पुर्याइएको हुदैन । यस्तो अवस्थामा प्रिआइपिओको नाममा बजारबाट पैसा असुल गर्दै सेयरधनी थप्दै गरिन्छ ।

यसलाई उदाहरणबाटै बुझौं । जस्तो कि कुनै कम्पनीको अधिकृत पुँजी १ करोड रुपैयाँ हुने भयो । त्यसमध्ये संस्थापकहरुले ५० लाख रुपैयाँ जारी पुँजी राख्न सक्ने भए । जारी पुँजी ५० लाख रुपैयाँ हुने भएपनि संस्थापक सेयरधनीले ५० लाख रुपैयाँ बराबरको रकम कम्पनीलाई बुझाइसकेका हुँदैन । र, त्यस्तो अवस्थामा सेयरधनीले कम्पनीलाई बुझाइसकेको अर्थात चुक्ता गरिसकेको चुक्तापुँजी ३० लाख रुपैयाँ हुन सक्ने भयो ।

माथिको उदाहरणमा कम्पनीको अधिकृत पुँजी १ करोड रुपैयाँ भयो । जारी पुँजी ५० लाख रुपैयाँ भयो र चुक्ता पुँजी ३० लाख रुपैयाँ भयो । यस्तो अवस्थामा जारी पुँजी बराबर अर्थात ५० लाख रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीको २० लाख रुपैयाँको सेयर प्रिआइपिओको नाममा विक्री गरिन्छ । र, यसमा बुझ्नु पर्ने कुरा के हो भने कुनै कम्पनीको सेयर प्रिआइपिओमा ३२५ रुपैयाँमा लिएपनि सो सेयरको अंकित मूल्य १०० रुपैयाँ (सामान्यतः) मात्रै हुन्छ । बाँकी रहेको २२५ रुपैयाँ कम्पनीको आम्दानी हुन्छ । कम्पनीको आम्दानी हुनुभनेको प्रिआइपिओ खरिद गर्नुअघिका सेयरधनीलाई लाभ दिनु हो ।

तर, योभन्दा पनि बढी लाभ हुने तरिका अर्काे छ । त्यो के हो भने कुनै कम्पनीले आइपिओमा जाने सोच बनाएपछि कम्पनीको पुँजी असाध्यै धेरै बढाइन्छ । जस्तो कि १० करोड रुपैयाँ पुँजी भएको कम्पनीको पुँजी बढार १० अर्ब रुपैयाँ बनाइन्छ । 

त्यसपछि कम्पनीले आइपिओ जारी  गर्न लागेको हल्ला फैलाइन्छ र यति नाफा र उति नाफा छ भन्दै सामान्य कम्पनीलाई पनि ब्लुचिप्स कम्पनी जसरी हल्ला फैलाइन्छ । यसरी हल्ला फैलिइसकेपछि ५ सयमा आइपिओ आउन लागेको कम्पनीको ४ सयमा प्रिआइपिओ पाइन्छ भन्दै यसको धन्दा सुरु हुन्छ । त्यसपछि कम्पनीका सस्थापक सेयरधनीले आफूसँग भएको सेयर विक्री गर्छन् र सेयर खरिद गर्नेले तिरेको रकम खल्तीमा हालेर टाप कस्छन् ।

अहिले गोल्डस्टारमा देवश्री भेन्चरले आफ्नो सेयर विक्री गरेर निस्कन लागेको हो ।

सेयर विक्री गर्ने प्रक्रिया

कम्पनीको सेयर विक्री गर्नको लागि पहिला सेयरधनीले कम्पनी संचालक समितिमा विक्री गर्न लागेको सेयर संख्या र विक्री गर्न लागेको मूल्य उल्लेख गरेर निवेदन दिनुपर्छ । यसरी निवेदन प्राप्त भएपछि कम्पनी संचालक समितिले सेयर विक्री गर्न अनुमति दिने नदिने निर्णय गर्छ ।

सेयर विक्री गर्न अनुमति दिने निर्णय गरेपछि सो सेयर खरिदको लागि कम्पनीका संस्थापक सेयरधनीहरुलाई जानकारी गराइन्छ । अर्थात कुनै संस्थापक सेयरधनीले सेयर बेच्न चाह्यो भने सो सेयर किन्ने पहिलो अधिकार कम्पनीका संस्थापक सेयरधनीकै हुन्छ ।

अन्य सेयरधनीले सो सेयर खरिद नगर्ने भएमा कम्पनीको संचालक समितिले सेयर विक्री गर्न लागेको सेयरधनीलाई सोको जानकारी गराउँछ र उसलाई उपयुक्त व्यक्ति खोजेर सेयर विक्री गर्न सक्ने अनुमति दिन्छ । त्यसपछि मात्रै सो सेयरधनीले नयाँ व्यक्ति खोजेर सेयर विक्रीको प्रक्रिया अघि बढाउँछ ।

नयाँ व्यक्तिले सेयर खरिद गरेपछि सो सम्बन्धी आवश्यक कागजात सेयर खरिद र विक्री गर्ने व्यक्तिहरुले कम्पनी संचालक समितिमा बुझाउँछन् । त्यसपछि कम्पनी संचालक समितिले पुरानो सेयरधनी हटाएर नयाँ सेयरधनी कायम गर्ने लगायतको सेयर लगत कायम गर्ने र नामसारी गर्ने जस्ता प्रक्रिया अघि बढाउँछ ।

अर्थात कुनै कम्पनीको संस्थापक सेयरधनीले सेयर विक्री गर्न लाग्यो भने कसले, कतिकित्ता, कति मूल्यमा विक्री गर्न लागेको हो सोको जानकारी सो कम्पनीका सबै सेयरधनीलाई हुन्छ । र, कम्पनीको संचालक समितिले नै प्रक्रिया अघि बढाउने भएकोले उसलाई जानकारी नहुने भन्ने नै हुँदैन ।

त्यसैले गोल्डस्टार स्ट्राइड लिको सेयर देवश्री भेन्चरले विक्री गर्न लागेको हो भने सोको जानकारी गोल्डस्टार स्ट्राइड लिका सबै सेयरधनीलाई हुन्छ । कम्पनीका कम्पनी सचिव पालले देवश्री भेन्चरले गोल्डस्टारको सेयर विक्री गरेर नामसारी गरिनसकेको बताए । देवश्री भेन्चरले सेयर विक्रीको लागि कम्पनीमा निवेदन दिएको तर कम्पनी संचालक समितिले सेयर विक्रीको अनुमति नदिएको उनको भनाइ छ ।

‘कम्पनीका सेयरधनीहरुले एकले अर्काको सेयर खरिद नगर्ने स्पष्ट पारिसक्नु भएको छ । देवश्री भेन्चरले सेयर विक्री गरेको भनेर विवरण कम्पनीमा दिनु भएको त छ तर ती सेयरधनीको सेयर लगत कायम भएको छैन, नामसारी भएको छैन,’ कम्पनी सचिव पालले वडापालिकासँग भने ।

तर, देवश्री भेन्चरका सिइओ सिटौला आफूहरुले गोल्डस्टारको सेयर विक्री गरिसकेको बताउँछन् । 

‘सेयर बेच्नको लागि गोल्डस्टारको संचालक समितिले अनुमति दिएको छ । हामीले धेरै सेयर विक्री पनि गरिसकेका छौं,’ सिइओ सिटौलाले भने । उनले कति रकम बराबरको सेयर विक्री भयो भन्ने बारेमा केही खुलाएनन् ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update