काठमाडौँ । पुँजी बजारको नियामक निकाय धितोपत्र वोर्डले प्रकाशन गरेको आधिकारिक सार्वजनिक सुचनालाई मान्ने हो भने नेपालमा अहिले प्रिआइपिओ बेच्न पाइदैन ।
बोर्ड भन्छ– नेपालको कानुनमा प्रिआइपिओ सम्बन्धी कुनै व्यवस्था नभएको र एक पटकमा ५० जनाभन्दा बढीलाई धितोपत्र (सेयर) विक्री गर्ने भएमा सार्वजनिक निष्कासनमा जानुपर्छ ।
तर, २०८२ सालको साउन ६ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको देवश्री भेन्चर प्रालि भने खुल्लमखुल्ला प्रिआइपिओ विक्री गरिरहेको छ । देवश्रीले आफ्नो फेसबुक पेजमार्फत विभिन्न कम्पनीका सेयर विक्रीको लागि सार्वजनिक आव्हान गरेको प्रमाण फेला पर्छ ।
वडापालिका डटकमले प्राप्त गरेको विवरण अनुसार देवश्रीले अहिले ९ वटा कम्पनीको प्रिआइपिओ खरिद गर्नु भन्दै सर्वसाधारणलाई आव्हान गरिरहेको छ । देवश्रीले मेची इन्डष्ट्रिज लिमिटेड, श्री न्यू एभरेष्ट डिस्टिलरी उद्योग प्रालि, गोल्डस्टार स्ट्राइड लिमिटेड, हुलास इन्फ्रा, हुलास आइरन र स्पार्क हाइड्रोइलेक्ट्रिसिटी कम्पनी लिमिटेडको प्रिआइपिओ विक्रीको लागि आफ्नो वेबसाइटमा राखेको छ ।
यस्तै, महाशक्ति सिमेन्ट लिमिटेड, हाइड्रो एम्पायर प्रालि र हिम रिभर पावर लिमिटेडको सेयर पनि विक्रीको लागि देवश्रीले राखेको छ ।
यद्यपि, देवश्री प्रालिले यी कम्पनीमा आफ्नो लगानी रहेको दाबी गर्छ । तर, प्राप्त प्रमाण र तथ्यले के देखाउँछ भने देवश्री प्रालि आइपिओ जारी नगरेको पब्लिक कम्पनीको केही कित्ता सेयर पहिला आफूले किन्छ । किन किन्छ भने आफूसँग केही कित्ता सेयर रहेको देखाउन सकेपछि ‘मैले मेरो स्वामित्वको सेयर बेच्न लागेको’ भनेर देवश्रीले दाबी गर्न पाउँछ । अनि संस्थापक सेयरधनीसँग एउटा रकममा डिल गर्ने र सोभन्दा महंगो मूल्यमा सर्वसाधारणलाई प्रिआइपिओ बेच्ने काम देवश्रीले गर्छ । यसको लागि सर्वसाधारणलाई सामाजिक संजाल प्रयोग गरी सार्वजनिक आव्हान गर्छ ।
यसको लागि एउटा उदाहरण नै हेरौं । देवश्री भेन्चर प्रालि कम्पनी रजिष्टारको कार्यालयमा २०८२ साल साउन ६ गते दर्ता भएको कम्पनी हो । त्यसपछि देवश्रीले गोल्डस्टार स्ट्राइड कम्पनी (गोल्डस्टार) को २ लाख कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँमा खरिद गर्छ । गोल्डस्टार स्ट्राइड कम्पनीका अध्यक्ष अमिरप्रताप जवराले २०८२ साल बैशाख २५ गते कम्पनी रजिष्टारको कार्यालयमा बुझाएको विवरण अनुसार देवश्रीले गोल्डस्टारलाई २ लाख कित्ता सेयर किन्न २ करोड रुपैयाँ बुझाइसकेको छ ।
गोल्डस्टारसँग प्रतिकित्ता १०० रुपैयाँको दरले सेयर खरिद गरेपछि देवश्री भेन्चर प्रालि एक वर्षपनि नपुगी सो सेयर ३०० प्रतिशतभन्दा महंगोमा बेच्न सर्वसाधारणलाई आव्हान गर्छ । देवश्रीले गोल्डस्टारको सेयर प्रतिकित्ता ३२५ रुपैयाँमा खरिद गर्न सर्वसाधारणलाई आव्हान गर्दै आफ्नो वेबसाइटमा फाराम नै राखेको छ । तर, वडापालिकाले साउन १२ गते सो सम्बन्धी समाचार प्रकाशन गरेपछि गोल्डस्टारको फाराम वेबसाइटबाट हटाइएको छ । अन्य केही कम्पनीको लगानीका लागि फाराम भने अझै पनि देवश्री भेन्चरको वेबसाइटमा छ ।

प्रिआइपिओको नाममा सर्वसाधारणबाट रकम असुल गर्ने कार्यमा गोल्डस्टार स्ट्राइड कम्पनीको पनि संलग्नता देखिन्छ । कम्पनीले अहिले पनि सर्वसाधारणसँग सस्थापक सेयर वापतको रकम लिदै रकम बुझेको रिसिप्ट दिएको प्रमाण वडापालिकासँग सुरक्षित छ । कम्पनीले सेयर विक्री गरिरहेको भएपनि गत जेठ २० गते यता कम्पनी रजिष्टारको कार्यालयमा सेयर लगत परिवर्तन गरेको छैन । गोल्डस्टार स्ट्राइड कम्पनीका कम्पनी सचिव कृष्ण पालले भने कम्पनीले सेयर विक्री नगरेको दाबी गर्ने गरेका छन् ।
कम्पनीको संस्थापक सेयरधनी रहेकी पूर्वप्रबन्ध संचालक विदुशी राणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिसभाको बहालवाला सांसद हुन् ।
सम्बन्धित समाचार



