काठमाडौँ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरुको शिक्षकको मर्यादा तोकेको छ ।
उपमहानगरले शिक्षा ऐन २०७५ को पहिलो संशोधन गर्दै विद्यालय शिक्षकको मर्यादा तोकेको हो । ऐनमा तोकिएको व्यवस्था अनुसार विद्यालयमा कार्यरत शिक्षकमध्ये सबैभन्दा माथिल्लो पद नेपाल सरकारको सहसचिव सरह हुने उल्लेख छ ।
ऐनमा शिक्षकको मर्यादा ‘क’देखि ‘ङ’सम्म गरी ५ तह हुने व्यवस्था गरिएको छ । क श्रेणीमा माध्यमिक शिक्षा प्रथम श्रेणी हुने भएको छ । यो तहका शिक्षकको मर्यादा नेपाल सरकार/प्रदेश सरकार/स्थानीय तहको सहसचिव एवं राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको अधिकृत हुने भनिएको छ ।
यस्तै, ख श्रेणीमा माध्यमिक शिक्षक द्वितीय श्रेणीमा नेपाल सरकार/प्रदेश सरकार/स्थानीय तहको उपसचिव एवं राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको अधिकृत हुने भनिएको छ भने ग श्रेणीमा माध्यमिक शिक्षक तृतीय श्रेणी हुने भनिएको छ । यो भनेको नेपाल सरकार/प्रदेश सरकार/स्थानीय तहको शाखा अधिकृत एवं राजपत्राङ्कित तृतीय श्रेणी वा सरहको कर्मचारी हुने व्यवस्था छ ।
घ श्रेणीमा निम्न माध्यमिक तह प्रथम श्रेणी, निम्न माध्यमिक तह द्वितीय श्रेणी, निम्न माध्यमिक तह तृतीय श्रेणी, प्राथमिक प्रथम श्रेणी, प्राथमिक तह द्वितीय श्रेणी, प्राथमिक तह तृतीय श्रेणी राखिएको छ । यो श्रेणीका शिक्षकहरूको मर्यादाक्रम समेत नेपाल सरकार/प्रदेश सरकार/स्थानीय तहको समान तहका कर्मचारी अनुसारको मर्यादाक्रम कायम रहने व्यवस्था गरिएको छ ।
प्रधानाध्यापकहरूको मर्यादाक्रम भने जुन तह र श्रेणीको शिक्षक हो सोही बमोजिमको मर्यादाक्रम रहने ऐनमा उल्लेख छ । उपमहानगरपालिकाभित्र माथि उल्लिखित मर्यादाक्रम लागु हुनेछ र औपचारिक सभा समारोहहरूमा सोही अनुसारको आसन एवं उपस्थिति गराउनु पर्ने मेयर राजन पौडेलले जानकारी दिए ।



