नेपाल जर्मन उद्योग वाणिज्य संघले भन्यो– र्‍याडिसन होटलले ग्यास लुकाएको होइन

काठमाडौं । नेपाल जर्मन उद्योग वाणिज्य संघले होटल याडिसनले खाना पकाउने ग्यास लुकाएको भनेर गरिएको अनिरन्जनाप्रति दुःख व्यक्त गरेको छ । 

संघले होटलको आकार, सञ्चालनको प्रकृति, अतिथिको संख्या, दैनिक खाद्य उत्पादन तथा वास्तविक इन्धन आवश्यकतालाई समग्र रूपमा नहेरी खाना पकाउन प्रयोग हुने एलपी ग्यासको स्टकलाई मात्र आधार बनाएर अतिरञ्जित प्रचार हुनु दुःखद् विषय भएको उल्लेख गरेको हो ।

संघका महासचिव एलेक्स लाल मुक्तानले एक विज्ञप्ति जारी गरी देशको पर्यटन तथा होटल उद्योग विस्तार र व्यावसायिक रूपमा अघि बढिरहेको वर्तमान अवस्थामा सरकारले होटल तथा आतिथ्य क्षेत्रलाई सहजीकरण, संरक्षण र प्रोत्साहन गर्दै अघि बढाउनुपर्नेमा ग्यास लुकाएको भन्ने आरोप लगाउनुले यो क्षेत्रको विकासमा समस्या सिर्जना हुने बताएका छन् । होटल र्याडिसन नेपाल जर्मन उद्योग वाणिज्य संघको सदस्य हो ।

‘र्याडिसन होटल नेपाल जर्मन उद्योग वाणिज्य संघको सदस्यसमेत रहेको र आफ्नो स्थापना कालदेखि नै नेपालको पर्यटन तथा आतिथ्य उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको प्रतिष्ठित पाँचतारे होटल हो। अन्तर्राष्ट्रिय र्याडिसन होटल ग्रुप अन्तर्गत सञ्चालित यस होटलको प्रतिष्ठा तथा व्यावसायिक साखमा असर पुग्ने गरी अपूर्ण वा अतिरञ्जित सूचना सार्वजनिक हुनु सम्बन्धित सबै पक्षका लागि गम्भीर विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।

होटल व्यवस्थाका अनुसार होटल परिसरमा तीनवटा भवन, करिब २६० वटा अतिथि कोठा तथा करिब ३९२ बेड, ३० वटा अपार्टमेन्ट, तीनवटा ठूला ब्यांकेट हल, चारवटा मिटिङ हल तथा सातवटा रेष्टुरेन्ट/आउटलेट सञ्चालनमा रहेका छन्। यसका अतिरिक्त, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको लाउन्ज तथा रेष्टुरेन्टका लागि आवश्यक ग्यासको व्यवस्थापन पनि होटलबाटै हुने गरेको छ । 

यति ठूलो र बहुआयामिक सेवा सञ्चालन हुने होटलका सम्बन्धमा ग्यासको स्टकलाई मात्र आधार बनाएर धारणा बनाउनु उपयुक्त नहुने होटल व्यवस्थापनले जनाएको छ।

होटलका अनुसार, हाल दैनिक रूपमा ६ सयभन्दा बढी कैलाश–मानसरोवर जाने यात्रु तथा अन्य अतिथिहरूका लागि ब्रेकफाष्ट, लन्च र डिनर तयार गर्नुपर्ने हुन्छ। यसबाहेक होटलका कर्मचारीका लागि दैनिक करिब ४००–५०० जनाको खाना समेत तयार गरिन्छ। ब्यांकेट, इभेन्ट, रुम सर्भिस तथा अन्य फुड एण्ड बेभरेज सेवाहरूलाई समेत जोड्दा होटलको किचेनमा दैनिक रूपमा ठूलो परिमाणमा खाना उत्पादन हुने गर्दछ।

‘यस्तो विशाल र निरन्तर सञ्चालन हुने होटलमा एलपी ग्यासको दैनिक आवश्यकता स्वाभाविक रूपमा उच्च हुन्छ। हालको सञ्चालन अवस्थाअनुसार होटलमा दैनिक करिब ५०–६० वटा सिलिन्डरसम्म ग्यास खपत हुने होटल व्यवस्थापनले जनाएको छ। यस्तो अवस्थामा दैनिक प्रयोगमा रहेका तथा सुरक्षित रूपमा रोटेसन र आकस्मिक आवश्यकताका लागि राखिएका गरी कुल १८४ वटा एलपी ग्यास सिलिन्डर हुनु आफैंमा अस्वाभाविक वा गैरकानुनी अतिरिक्त भण्डारणको प्रमाण मान्न सकिँदैन,’ संघको विज्ञप्तिमा भनिएको छ ।

यस विषयमा एउटा महत्वपूर्ण तथ्य स्पष्ट पार्न आवश्यक छ—१८४ वटा सिलिन्डर भनेको १८४ वटै सिलिन्डर दैनिक रूपमा प्रयोग हुने भन्ने होइन। उक्त संख्यामा तत्काल प्रयोगमा रहेका सिलिन्डर, प्रयोगपछि परिवर्तन वा रोटेसनका लागि राखिएका सिलिन्डर तथा निरन्तर किचन अपरेसन सुनिश्चित गर्न आवश्यक सुरक्षित स्टकसमेत समावेश हुन्छन्। दैनिक ५०–६० सिलिन्डरसम्म खपत हुने ठूलो होटलमा केही दिनको सञ्चालनलाई ध्यानमा राखेर आवश्यक इन्धनको सुरक्षित स्टक राख्नु सामान्य व्यवस्थापकीय आवश्यकता हो।

‘होटलको किचन चौबीसै घण्टा सञ्चालनमा रहने भएकाले ग्यासको आपूर्ति अवरुद्ध हुँदा सयौं अतिथि, यात्रु, कर्मचारी तथा ब्यांकेट/इभेन्ट सेवामा प्रत्यक्ष असर पर्न सक्छ। त्यसैले निरन्तर र सुरक्षित इन्धन आपूर्ति होटल सञ्चालनको आधारभूत आवश्यकता हो, अतिरिक्त सुविधा वा विलासिता होइन,’ संघले भनेको छ ।

होटल व्यवस्थापनका अनुसार एलपी ग्यासको प्राप्ति, प्रयोग, वितरण तथा स्टकसम्बन्धी अभिलेख व्यवस्थित रूपमा राखिँदै आएको छ। साथै, ग्यास सिलिन्डरको सुरक्षित भण्डारण, ह्यान्डलिङ तथा प्रयोगमा लागू हुने सरकारी नियम, सुरक्षा मापदण्ड तथा सम्बन्धित कानुनी प्रावधानहरूको पालना गर्न होटल प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

‘नेपाल जर्मन उद्योग वाणिज्य संघ स्पष्ट रूपमा भन्न चाहन्छ कि होटलमा रहेका १८४ वटा एलपी ग्यास सिलिन्डर कुनै पनि हिसाबले लुकाएर वा गैरकानुनी रूपमा अतिरिक्त परिमाणमा भण्डारण गरिएका होइनन्। ती होटलको वास्तविक सञ्चालन आवश्यकता, दैनिक खपत, सिलिन्डरको रोटेसन तथा किचेनको निरन्तर सञ्चालन सुनिश्चित गर्न व्यवस्थापन गरिएका हुन्।

अन्तर्राष्ट्रिय ब्रान्डसँग आबद्ध होटल तथा नेपालको पर्यटन उद्योगमा योगदान पुर्‍याइरहेका व्यवसायीहरूको प्रतिष्ठामा असर पर्ने विषयमा तथ्यको पूर्ण सत्यापन, सन्तुलित सूचना सम्प्रेषण र जिम्मेवार पत्रकारिता आवश्यक छ। नेपाल जर्मन उद्योग वाणिज्य संघ सम्बन्धित सबै निकाय तथा सञ्चारमाध्यमलाई होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित विषयमा तथ्यपरक, निष्पक्ष र जिम्मेवार सूचना सम्प्रेषण गर्न आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update