Odapalika - The Fourth Estate - चौथो अंग
नेपाललाई जर्मन संस्था एसइएसले सहयोग गर्ने

काठमाडौं ।  जर्मनीको प्रमुख स्वयंसेवी संस्था सिनियर एक्सपर्ट सर्विस ९एसइएस० ले नेपालका साना तथा मझौला उद्योग, सार्वजनिक संस्थानहरू तथा विद्यालयस्तरका युवा विकास कार्यक्रमहरूमा सहयोग गर्न इच्छुक रहेको जनाएको छ।

एनजिसिसिआई सचिवालयमा आज भएको भेटवार्तामा एसइएसकी परियोजना संयोजक उल्रिके पुट्जले नेपालमा विभिन्न क्षेत्रमा सीप तथा प्रविधि हस्तान्तरणमार्फत क्षमता अभिवृद्धि गर्न संस्था तयार रहेको बताइन्।

उनका अनुसार एसइएसले सन् १९८३ देखि विकास सहकार्यका क्षेत्रमा प्रविधि र सीप हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। अफ्रिका, एसिया, लाटिन अमेरिका, पूर्वी तथा दक्षिण–पूर्वी यूरोपलगायत विश्वका विभिन्न क्षेत्रमा र जर्मनीभित्र पनि एसइएसका विज्ञहरू सक्रिय रूपमा योगदान गर्दै आएका छन्।

भेटका क्रममा एनजिसिसिआईका अध्यक्ष सन्तोष चन्द्र कुँवरले भाषा शिक्षक विकास, निर्यात प्रवर्द्धन, क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा प्राविधिक सहयोग आवश्यक रहेको बताउँदै एसइएससँग सहकार्यको अनुरोध गरेका थिए। सो अवसरमा पुट्जले ती क्षेत्रहरूमा एसइएस सहयोग गर्न इच्छुक रहेको पुष्टि गरिन्। आवश्यक सेवा तथा विशेषज्ञता चाहिने व्यवसायी वा संस्थासँग समन्वय गर्न उनले एनजिसिसिआईलाई आग्रह गरिन्।

भेटमा एसइएस नेपाल प्रतिनिधि शेरबहादुर परियार र एनजिसिसिआईका सल्लाहकार डा। गोपाल प्रसाद तिवारी पनि उपस्थित थिए।

हाल एसइएसले १३ हजारभन्दा बढी अवकाशप्राप्त वा क्रियाशील विशेषज्ञहरूलाई सीप तथा ज्ञान हस्तान्तरणका लागि विश्वभर परिचालन गर्दै आएको छ। सन् १९८३ देखि अहिलेसम्म १७० देशमा ६० हजारभन्दा बढी स्वयंसेवी विशेषज्ञ सेवा प्रदान गरिसकेको यस संस्थाको मुख्य कार्यालय जर्मनीको बोनमा अवस्थित छ र विश्वभर करिब २०० स्थानीय प्रतिनिधि छन्। संस्था विशेषगरी एसएमइज, सार्वजनिक संस्थान तथा युवा विकास कार्यक्रमहरूको क्षमता वृद्धि गर्न केन्द्रित छ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update