काठमाडौँ । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग एपमा आइआरडी इन्सेन्टिभ कार्यक्रम सुविधा उपलब्ध गराएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
यस सुविधा मार्फत कुमारी बैंकका ग्राहकहरूले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १ सय रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआर मार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् । ग्राहकहरूले कुमारी स्मार्ट मोबाइल बैंकिङ्ग एपको आइआरडी प्रोत्साहन कार्यक्रम मेनु मार्फत योग्य कारोबारहरूको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्था समेत सजिलै हेर्न सक्नेछन् । यसले ग्राहकहरूलाई डिजिटल भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन तथा औपचारिक कारोबारलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
आन्तरिक राजस्व विभागको व्यवस्था अनुसार योग्य कारोबारमध्ये बाट दैनिक लक्की ड्र मार्फत एक जना ग्राहकले कर कट्टी पश्चात १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन भने प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ बराबरको बम्पर पुरस्कार प्राप्त गर्नेछन् । कुमारी बैंकले ग्राहकहरूलाई व्यापारीको क्यूआर मार्फत भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा नियमित रूपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा प्रयोग गरी आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ । बैंकले यस अभियानले डिजिटल कारोबार विस्तार गर्नुका साथै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम, ४० शाखारहित बैंकिङ्ग इकाइ मार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । नेपालका जुनसुकै स्थानमा बसोबास गर्ने प्रत्येक नेपालीलाई सहज, सुरक्षित तथा गुणस्तरीय बैंकिङ्ग पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता सहित बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्दै आएको छ ।



