नेपालको सेयर बजारले लाभांशलाई ‘बाल दिदैन’, हो ?

 

काठमाडौँ । पूर्वसिइओ रमेशकुमार भट्टराईले साउन २७ गते सामाजिक संजाल फेसबुकमा सेयर बजार सम्बन्धी एउटा स्टेटस लेखे । उनी नेपालका केही विकास बैंक र बीमा कम्पनीहरुको सिइओ भइसकेका व्यक्ति हुन् ।

उनले लेखेका थिए– ‘अहिले लाभांशको सिजन शुरु भएको छ । धेरै कम्पनीहरुले दशैं अगि नै खातामा पैसा पठाउँछन् ।’

उनी अहिले सामाजिक संजालमा सेयर बजारका कारोबारी जसरी प्रस्तुत भइरहेका छन् । सो दिनको उनको फेसबुक स्टेटसमा उनले लेखेका छन् ‘अहिलेको बेला शेयर बेच्नु वा बजारबाट निक्लनु भनेको ओथारा बासेको पोथी कुखुरा मासु खाने तृष्णाले यही भएनि हुन्छ भनेर खाए जस्तै हो’ ।

उनले यसरी सेयर नबेच्न र सकेसम्म खरिद गर्न आग्रह गरिरहे पनि सेयर बजार घटेको घट्यै छ । साउन महिनाभरमा सेयर बजार मापक नेप्से परिसुचक ३४ अंकले घटेको छ । भदौ लागेपछि पनि बजारमा खास उत्साह देखिएको छैन । भदौ महिनाको पहिलो साताभरमा नेप्से परिसुचक २३ अंकले घटेको छ ।

नेपालको सेयर बजारलाई खास प्रभाव केले पार्छ भनेर सोलोडोलो जवाफ दिन सकिदैन । नराम्रा कम्पनीको सेयर पनि निकै महंगोमा दोस्रो बजारमा विक्री भइरहेका छन् भनेर एकांगी तर्क गर्ने हो भने राम्रो कम्पनी स्ट्याण्डर्ड चार्टर्ड बैंक वा युनिलिभरको सेयर मूल्य माथि नै छ । राम्रा कम्पनीको सेयर मात्रै बढी छ भन्ने हो भने नेटवर्थ प्रतिशेयर ८ रुपैयाँ हाराहारी भएको दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँको हाराहारीमा छ ।

त्यसो भए नेपालको सेयर बजारलाई केले प्रभाव पार्छ त ? यो विषयमा वडापालिकाले सेयर बजारका केही लगानीकर्ता, केही ब्रोकर र केही विश्लेषकसँग कुरा गरेको छ । हामीले कुरा गरेका व्यक्तिहरुको साझा मत के रह्यो भने नेपालमा सेयर कारोबारी असाध्यै धेरै छन्, लगानीकर्ताको संख्या असाध्यै न्यून छ । कतिपय जानकारहरु नेपालको सेयर बजारमा ७० प्रतिशत कारोबारी र ३० प्रतिशत मात्रै लगानीकर्ता छन् भन्ने अनुमान सुनाउँछन् ।

सेयरका लगानीकर्ताले लाभांशलाई बढी ध्यान दिन्छन् । लगानीकर्ताले कुन कम्पनीको व्यवस्थापन कस्तो छ, संचालकहरु कस्ता छन्, कम्पनीको व्यवसायिक योजना र प्रगति कस्तो छ, कति लाभांश दिन्छ भन्ने जस्ता विषयमा सेयर कारोबारीको ध्यान हुँदैन । उनीहरु आफूले खरिद गरेको मूल्यमा जुनबेला बढी नाफा पाएँ भन्ने निष्कर्षमा पुग्छन्, त्यही बेला सेयर बेचिदिन्छन् । तर, लगानीकर्ताले तत्कालिन, मध्यकालिन र दीर्घकालिन प्रतिफलको हिसाव गर्ने भएकोले आज केही फाइदा हुँदा वा केही घाटा हुँदैमा पनि सेयर विक्री गरेर बजारबाट निष्कदैनन् ।

कम्पनी व्यवस्थापनको बढी जोड कम्पनीको नाफा बढी देखाउँनेमा हुन्छ । त्यसैले कम्पनी व्यवस्थापनले आरओई (रिटर्न अन इक्वीटी) का आधारमा आफ्नो कम्पनीको ब्यालेन्ससिटको व्याख्या गर्दछ । आरओई कम्पनीको खुद नाफाबाट निकालिन्छ । जबकि, अहिले कम्पनीको खुद नाफा कति भयो भन्नेले सेयरधनीलाई दिने लाभांशमा कुनै असर गर्दैन । सेयरधनीले पाउने भनेको वितरणयोग्य नाफाबाट हो । अहिले सेयर बजारमा सुचिकृत कम्पनीहरुको वितरणयोग्य नाफाका आधारमा कम चर्चा हुने गरेको छ । 

दोस्रो बजारमा सुचिकृत कम्पनीहरुले यसवर्ष कति लाभांश बाँड्छन् भन्ने अनुमान गर्न कठिन हुँदै गएको छ । अर्थात विगत १० वर्षमा कम्पनीको लाभांश दर औसतमा यति थियो र अवको १० वर्षसम्म औसतमा यति प्रतिशत लाभांश दर रहन्छ भनेर प्रक्षेपण गर्न सक्ने अवस्था नै छैन । कम्पनीको लाभांश वितरणमा स्थायित्व छैन, धेरै उतारचढाव छ । यसैकारण लगानीकर्ताले लाभांशको आशमा नेपाली सेयर बजारमा लगानी गर्ने प्रबृत्ति कमजोर छ ।

सेयर बजारमा लाभांशलाई बाल नदिने अर्काे कारण कम्पनीहरुले प्रदान गर्ने औसत लाभांश लगानीकर्ताको लागि पर्याप्त हो भन्ने महसुस गराउन सक्ने दरको नभएकोले पनि हो । अहिले कुनै कम्पनीले १५ प्रतिशत लाभांश दिदैछ भने त्यो लाभांश पर्याप्त हो त भन्नेमा लगानीकर्ता सन्तुष्ट देखिदैन । यसैकारण पनि नेपालको सेयर बजारले लाभांश वितरणको सिजनलाई बाल दिने गरेको छैन ।

नेपालको सेयर बजारमा लाभांश सिजन आकर्षण विहिन जस्तै देखिने अर्काे कारण लाभांश वितरणपछिको मूल्य समायोजन गर्ने परिपाटी पनि हो । कुनै कम्पनीले लाभांश वितरण गरेपछि सरकारले डिभिडेन्ट कर लिन्छ तर नेप्सेले सेयरको मूल्य समायोजन गरिदिन्छ । लाभांश पाउने सेयरधनीको सम्पत्ति बढेको देखिदैन । खासमा भन्ने हो भने त नेपालमा लाभांश नै फेक हो भन्दा पनि हुन्छ । सेयरमा लगानी गर्नेले यो कुरा बुझेको हुन्छ, त्यसैले ऊ लाभांशको पछाडि नलाग्ने लगानीकर्ताहरु बताउँछन् ।

बजारका जानकारहरुका अनुसार नेपालको सेयर बजारमा संस्थागत लगानीकर्ता खासै छैनन् । जसलाई संस्थागत लगानीकर्ता भनिएको छ, उनीहरु पनि सेयर कारोबारी जस्तै गतिविधिमा संलग्न छन् । लाभांशमा बढी ध्यान संस्थागत लगानीकर्ता पनि दिने हो । सेयर कारोबारी, अल्पकालिन लगानीकर्ता वा सट्टेबाजहरुले लाभांशभन्दा अन्य कुराहरुलाई प्राथमिकतामा राख्ने गरेका जानकारहरु बताउँछन् ।

यस्ता कारणले नेपालको सेयर बजारमा लाभांशलाई खासै महत्व नदिइएको पाइएको छ । यसैकारण लाभांश सिजनमा सेयर बजारमा खडेरी देखापरेको हो ।

 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update