काठमाडौँ । बर्दिया जिल्लाको राजापुर नगरपालिकाले सिन्धुपाल्चोकको भोटेकोशी नदीलगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा सम्पर्कविहीन राजापुर नगरपालिकाका नागरिकको खोजी तथा उद्धारका लागि अपिल गरेको छ।
नगरपालिकाले एक सुचना जारी गरी बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट पनि गरेको छ ।
प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारको खोजी, उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन नगरपालिका सक्रिय रहेको जनाएको छ।
नगरपालिकाले विपद्को कठिन परिस्थितिमा सबै नेपाली नागरिकबीच एकता, सहयोग र मानवीय संवेदना अझ बलियो बनाउन आवश्यक रहेको उल्लेख गरेको छ। साथै, पीडित परिवारलाई आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन स्थानीय तहबाट सक्दो पहल गरिने जनाएको छ।
राजापुर नगरपालिकाले बाढीका कारण प्रभावित भएका, परिवारसँग सम्पर्क हुन नसकेका तथा हालसम्म सम्पर्कमा नआएका राजापुर नगरपालिकाका नागरिक वा उनीहरूका परिवारजनलाई नगरपालिकाको सम्पर्कमा आउन आग्रह गरेको छ।
नगरपालिकाले विपद्का कारण प्रभावित क्षेत्रका नागरिकको विवरण संकलन गरी आवश्यक सहयोग, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउने जनाएको छ। प्रभावित परिवारजनलाई नगरपालिकाको विपद् व्यवस्थापन शाखा तथा सम्बन्धित निकायमा सम्पर्क गरी आफ्नो अवस्थाबारे जानकारी गराउन आग्रह गरिएको छ।
नगरपालिकाका मेयर दिपेश थारूद्वारा जारी सूचनामा विपद्को समयमा एकअर्कालाई सहयोग गर्दै प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा हातेमालो गर्न सबैमा अपिल गरिएको छ।




