ग्लोबल आइएमई बैंकद्वारा शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले कुल लाभांशमध्ये करसहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।

आधुनिक प्रविधि र प्रभावकारी ग्राहक सेवाका आधारमा बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि जितिसकेको छ। यसबाहेक बैंकले ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ (२०२२, २०२४ र २०२५), ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित पुरस्कारसमेत हात पारिसकेको छ।

ग्लोबल आइएमई बैंक देशका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले देशभर ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।

साथै, बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका मुलुकबाट विप्रेषण (रेमिट्यान्स) औपचारिक माध्यममार्फत भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउँदै आएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update