विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले बाढीपहिरोलगायत विपद्बाट प्रभावित बालबालिकाको पठनपाठन सुनिश्चित गर्न ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ सुरु गरेको छ। रसुवा–भोटेकोशी बाढी तथा विभिन्न विपद्का कारण शिक्षाबाट वञ्चित हुन पुगेका बालबालिकालाई लक्षित गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार यो कार्यक्रम घोषणा गरेको हो।

कार्यक्रम सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले विपद्का कारण कुनै पनि बालबालिकाको पढाइ नरोकिने स्पष्ट पारे। योजनाअन्तर्गत बाढी प्रभावित विद्यार्थीलाई आवासीयसहित पूर्ण वा आंशिक छात्रवृत्तिको व्यवस्था गरिनेछ।

गृहजिल्लामै बसेर पढ्न चाहने विद्यार्थीका हकमा स्थानीयस्तरमै उपयुक्त विकल्प खोजिने मन्त्रालयले जनाएको छ। भविष्यमा आउन सक्ने अन्य विपद्मा अभिभावक गुमाउने बालबालिकालाई समेत यसै योजनामार्फत समेटिनेछ।

निजी शैक्षिक संस्थाहरूसँगको सहकार्यमा अघि बढाइएको यस योजनाको प्रारम्भिक चरणमा हिसान, प्याब्सन, एनप्याब्सन, ओपिन तथा नेपाल मन्टेश्वरी संघ जोडिएका छन्। मन्त्रालयले अन्य शैक्षिक तथा सामाजिक संघसंस्थालाई पनि यस अभियानमा हातेमालो गर्न आह्वान गरेको छ।

शिक्षा मन्त्रालयको प्रारम्भिक विवरणअनुसार हालैको रसुवा–भोटेकोसी बाढीपछि २८ शिक्षक र ५ सयभन्दा बढी विद्यार्थी अझै सम्पर्कविहीन छन्। संकटको यस घडीमा बालबालिकाको शैक्षिक भविष्य सुरक्षित राख्न यो दीर्घकालीन योजना ल्याइएको हो।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update