समाज कल्याण परिषदको बजेट स्वीकृत, प्रधानमन्त्री राहत कोषमा ५० लाख दिने

 

काठमाडौं । समाज कल्याण परिषद्को पहिलो बैठकले परिषद्को सम्पत्ति व्यवस्थापन, वित्तीय अनुशासन तथा संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

महिला, बालबालिका, लैगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीको अध्यक्षतामा बसेको बैठकले परिषद्को चालु आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको हो। बैठकले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ।

परिषद्को नाममा रहेका जग्गा, जमिनलगायतका सम्पत्तिको खोजविन गरी यथार्थ अवस्था पहिचान र प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय बैठकले गरेको छ। परिषद्को सम्पत्तिको अभिलेखीकरण, संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको हो।

त्यसैगरी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय साझेदार संस्था छनोट गर्दा अपनाउनुपर्ने प्रक्रिया सम्बन्धी कार्यविधि परिमार्जन गर्न समिति गठन गर्ने निर्णय गरिएको छ। कार्यविधिलाई समयानुकूल बनाउँदै साझेदार छनोट प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य राखिएको छ।

बैठकले भृकुटीमण्डप र इच्छुमतीस्थित परिषद्को जग्गामा निर्माण भएका संरचनाहरूको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, परिषद्को नाममा कायम रहेको बेरुजु शून्यमा झार्न कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न परिषद् कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ। परिषद्को वित्तीय अनुशासन सुदृढ गर्दै बेरुजु फर्छ्योटलाई प्राथमिकताका साथ अघि बढाउन बैठकले जोड दिएको छ।

बैठकले परिषद्को सम्पत्ति संरक्षण तथा व्यवस्थापन, वित्तीय अनुशासन, बेरुजु फर्छ्योट, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँगको साझेदारी प्रक्रिया सुधार तथा परिषद्को जग्गामा निर्मित संरचनाको अध्ययनलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्दै परिषद्को कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने तथा संस्थागत सुधारलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णयसहित बैठक सम्पन्न भएको मन्त्री बादीको सचिवालयले जानकारी दिएको छ।

 

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update