बैतडीमा कांग्रेस गगन पक्षको वडा अधिवेशनः विदेश भएपनि प्रतिनिधि, गरियो हस्ताक्षर

 

काठमाडौँ । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनको लागि बैतडी जिल्लामा भएको वडा अधिवेशनमा पनि व्यापक निरासा देखिएको छ । विशेष महाधिवेशन गरेर सभापति घोषणा भएका गगन थापा नेतृत्वको पक्षले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरेको हो ।

बैतडीका विभिन्न स्थानीय तहका प्रतिनिधिहरुले दिएको जानकारी अनुसार वडा अधिवेशनमा कांग्रेसीहरुको ‘निरासाजनक उपस्थिति’ थियो । कतिपय वडाहरुमा ४/५ जना भेला भएर वडा अधिवेशन गरिएको पनि उनीहरुले बताएका छन् ।

बैतडी जिल्लामा १० स्थानीय तह छन्  । यसमा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका छन् । सो जिल्लाभर ८४ वटा वडा छन् । गगन थापा पक्षको कांग्रेसले दिएको जानकारी अनुसार सो जिल्लाका ७८ वडामा वडा अधिवेशन भएको छ ।

‘वडा अधिवेशनमा यो तहको निरासा मैले कहिल्यै देखेको थिइनँ । वडा सभापतिले भेला गराएको छ, यो–यो मान्छे निर्वाचित भयो भनेर नाम लेखेको छ । काठमाडौँ, महेन्द्रनगर वा भारतको दिल्लीमा भएका मान्छेलाई पनि वडा अधिवेशनमा सहभागी भएको भनेर नाम उल्लेख गरिएको छ,’ एक स्थानीय तहका जनप्रतिनिधिले वडापालिकासँग भने ।

स्थानीय कांग्रेस कार्यकर्ताहरुले वडा अधिवेशनको क्रममा निर्वाचनको प्रक्रिया नै पूरा नभएको बताए । 

‘केही वडामा शिक्षक संघका साथीहरुलाई निर्वाचन अधिकृत भनेर हस्ताक्षर गराइएको रहेछ । धेरै वडाहरुमा त मतदाता नामावली पनि प्रकाशित गरिएको छैन, मतदान अधिकृत को हो भन्ने पनि थाहा छैन, कही मतदान अधिकृत तोकिए पनि पुगेको छैन, उम्मेदवारी दर्ता, दाबी विरोध, मतदात प्रक्रिया जस्ता निर्वाचनका गतिविधि भएकै छैनन् । रमाइलो ढंगले जसजसको नाम राख्न मिल्छ उसको नाम राखेर अधिवेशन सकियो भनिएको छ,’ बैतडीका एक स्थानीय नेताले भने ।

गगन थापा पक्षले आज पालिका अधिवेशन गरेको छ । तर, बैतडीमा भने हिजो (असोज ६ गते) पनि केही पालिकाको अधिवेशन सकिएको घोषणा गरिएको छ । असोज ६ गते ४ वटा पालिकाको अधिवेशन सकिएको घोषणा गरिएको छ भने बाँकी ६ पालिकाको अधिवेशन असोज ७ गने (आज) गरिदैछ ।

गगन थापा पक्षको कांग्रेसको डडेल्धुराको वडा अधिवेशन पनि भद्रगोल भएको देखिएको थियो भने बैतडीमा निरासाजनक उपस्थिति देखिएको स्थानीय नेताहरुले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

डडेल्धुरामा कांग्रेस महाधिवेशनको नाममा रमिताः एनजिओले मान्छे खोज्ने, भीमबहादुरको होटलले सभापति तोक्ने

 

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update