काठमाडौँ । सिन्धुपाल्चोक जिल्लामा आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असोज ६ गते जारी गरेको सूचनाअनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना औँल्याएको छ। सिन्धुपाल्चोक जिल्लाका सबै स्थानमा वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ।
भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै प्रशासनले पूर्वतयारी तथा आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो।
प्रशासनले अत्यावश्यकबाहेक यात्रा नगर्न, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई समुदायमा सूचना प्रवाह गरी प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
त्यस्तै, जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न भनिएको छ। स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्वयंसेवकलाई पूर्वसूचना तथा चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत आग्रह गरिएको छ।
अचानक बाढी आउन सक्ने खोला तथा खोल्सानजिकका बस्ती, पहिरोको जोखिमयुक्त क्षेत्र र खोला तथा नदी किनारका बासिन्दालाई विशेष चनाखो रहन प्रशासनले अनुरोध गरेको छ।
जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीलाई कार्यालय नछाड्न तथा बिदामा नबस्न र उच्च सतर्कतासहित तयारी अवस्थामा रहन भनिएको छ। स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, प्रमुख प्रशासकीय अधिकृत तथा विपद् सम्पर्क व्यक्तिरकर्मचारीलाई आफ्नै कार्यक्षेत्रमा रहेर स्थानीय समुदायसँग समन्वय गर्न निर्देशन दिइएको छ।
प्रशासनले विपद्सम्बन्धी जानकारी तथा आपत्कालीन सहयोगका लागि नेपाल मौसम विज्ञान विभागको हटलाइन ११५५, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न सकिने जनाएको छ।




