तानसेन नगरपालिकाले माग्यो विषय विशेषज्ञ, सूची अद्यावधिक गर्न १५ दिनको समयसीमा

 

काठमाडौँ । पाल्पाको तानसेन नगरपालिकाले सामुदायिक विद्यालयहरूमा रिक्त प्रधानाध्यापक, करार शिक्षक तथा कर्मचारी नियुक्ति सिफारिस प्रयोजनका लागि विषय विशेषज्ञको सूची अद्यावधिक गर्ने भएको छ ।

नगरपालिकाको शिक्षा निर्देशक सतिश यादवका अनुसार शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ९६ (क) को उपनियम १ र उपनियम (६) बमोजिम विशेषज्ञको सूची अद्यावधिक गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरिएको छ। 

विशेषज्ञको सुचीमा सुचिकृत हुनको लागि नगरपालिकाले योग्यता तथा मापदण्ड पनि तोकेको छ । जसमा आधारभूत तह (कक्षा १–५) को लागि शिक्षा शास्त्र संकायमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने भनिएको छ । यस्तै, आधारभूत तह (कक्षा ६–८) को लागि सम्बन्धित विषय र शिक्षा शास्त्र संकायमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ।

नगरपालिकाका अनुसार माध्यमिक तहको लागि सम्बन्धित विषयमा र शिक्षा शास्त्र संकायमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ । अनुभवको हकमा भने कम्तीमा ५ वर्षको शिक्षण सेवा अनुभव पत्र आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

विज्ञमा सुचिकृत हुनको लागि   पेश गर्नुपर्ने कागजातहरूमा निवेदन, स्थायी नियुक्ति पत्रको प्रतिलिपि, माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, तालिमको प्रमाणपत्रको प्रतिलिपि, अध्यापन अनुमति पत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र कम्तीमा ५ वर्षको शिक्षण सेवा अनुभवको पत्र हुनुपर्ने छ । नगरपालिकाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न सम्पूर्ण विद्यालयहरू तथा सरोकारवालाहरूलाई जानकारी गराएको छ। नगरपालिकाले असोज १२ गते सार्वजनिक सुचना प्रकाशन गरी १५ दिनको म्याद तोकेको शिक्षा निर्देशक यादवले जानकारी दिए । 

 

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  १०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update