काठमाडौँ । पाल्पाको तानसेन नगरपालिकाले आगामी तिहार तथा छठ पर्वमा प्लाष्टिकजन्य मालाको प्रयोग नगर्न आग्रह गरेको छ । नगरपालिकाले पर्वको गरिमालाई उच्च राख्दै वातावरण संरक्षण र स्थानीय उत्पादनलाई प्राथमिकता दिन विशेष अनुरोध गरेको हो ।
चाडपर्वको समयमा बजारमा पाइने प्लाष्टिकजन्य मालाको प्रयोग गर्दा वातावरणीय प्रदूषण बढ्नुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले नगर क्षेत्रभित्र यस्ता सामग्रीको प्रयोग नगर्न आग्रह गरिएको मेयर सन्तोषलाल श्रेष्ठले जानकारी दिए ।
नगर क्षेत्रभित्र प्लाष्टिकका फूल तथा मालाको प्रयोगलाई पूर्ण रूपमा निरुत्साहित गर्दै स्थानीयस्तरमै उत्पादित प्राकृतिक फूल तथा मालाको प्रयोग गर्न तानसेनवासीहरूप्रति हार्दिक अनुरोध गरिएको उनको भनाइ छ ।
वातावरण संरक्षण, स्वच्छता कायम राख्न तथा स्थानीय कृषक एवं उत्पादनको प्रवर्द्धन गर्न यस अभियानमा सम्पूर्ण नगरवासीको सक्रिय र सकारात्मक सहयोगको अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ। मेयर श्रेष्ठले तानसेनमा वातावरणमैत्री र दिगो रूपमा चाडपर्व मनाउन तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको बताए ।



