काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी ज्यान गुमाएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो महसुस नगर्न आग्रह गरेका छन् ।
बिहीबार मन्त्रालयमा पीडित परिवारका सदस्यहरूसँग सामूहिक भेट गर्दै उनले अर्थ मन्त्रालय र भन्सार प्रशासन परिवारको साथमा रहेको बताएका हुन् ।
सरकारको राजस्व संकलन गर्ने जिम्मा पाएर रसुवास्थित कार्यक्षेत्रमा खटिएका भन्सारका काबिल कर्मचारीहरू अकल्पनीय विपत्तिले गुमाउनुपरेको भन्दै उनले दुःख व्यक्त गरे ।
‘पूर्वसूचना र सतर्कता समेत अपनाउनै नसकिने गरी घटेको विपत्तिले थिच्दा ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ । तपाईंहरूलाई जत्तिकै पीडा र दुःख हामीलाई पनि छ। हामीले पनि हाम्रा काबिल भन्सार प्रशासनका परिवारका सदस्यहरू गुमाउनुपर्दा दुःखी छौँ। तपाईंहरूलाई परेको पीडालाई म व्यक्त गर्न सक्दिनँ, तर तपाईंहरू एक्लो हुनुहुन्न। हामी तपाईंहरूको साथमा छौँ,’ परिवारका सदस्यहरुलाई मन्त्री वाग्लेले भने ।
अर्थमन्त्री डा. वाग्लेले परिवारका सदस्यहरूलाई आफ्ना समस्या खुलस्त रूपमा मन्त्रालय र विभागमा राख्न आग्रह पनि गरे । परिवारका सदस्यहरूको आवश्यकतालाई कानुनी आधार टेकेर प्राथमिकताका साथ मन्त्रालय र विभागले कार्यान्वयन गर्ने पनि उनको भनाइ छ। भेटका क्रममा परिवारका सदस्यहरूले तयार गरेको प्राथमिक तहको मागपत्र बुझ्दै उनले यसलाई कार्यान्वयन गर्दै लगिने बताए ।
दिवंगत र बेपत्ता व्यक्तिका परिवारका सदस्यहरूको शिक्षा, भरणपोषण र रोजगारी मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उनले स्पष्ट पारे ।
‘मलाई थाहा छ, तपाईंहरूले भोग्नुभएको अपूरणीय क्षतिपूर्ति कुनै कुराले गर्न सक्दैन, तर तपाईंहरूको अबको दैनिकी र भविष्यको बाटो सरल बनाउन उच्च प्राथमिकताका साथ सहयोग हामी गर्छौँ,’ अर्थमन्त्री डा. वाग्लेले भने ।
सो क्रममा अर्थमन्त्री डा. वाग्लेले कानुनबमोजिम हुने कुरा छिट्टै र कानुन संशोधन गरेर पूरा गर्नुपर्ने मागहरूलाई विभिन्न मन्त्रालयसँग समन्वय गरेर भए पनि अघि बढाउने बताए । घटना दर्ता, बालबालिकालाई छात्रवृत्ति लगायतका विषयमा पनि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको उनले परिवारजनलाई स्पष्ट पारे ।
बेपत्ताहरूको खोजतलासमा अझै पनि सुरक्षाकर्मी परिचालन भइरहेको उनले जानकारी दिए । घटनामा परी निधन भएका र हराइरहेका परिवारका सदस्यहरूलाई सहजीकरण गर्न एक विशेष कार्यदल गठन गर्न मन्त्रालय प्रशासनलाई उनले निर्देशनसमेत दिए ।
अर्थमन्त्रीसँग भेट गर्न रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारीका परिवारका सदस्यहरू मन्त्रालय गएका थिए । उनीहरुले आफ्नो परिवारको मियोका रूपमा रहेका सदस्य बाढीमा परी गुमाएको र बेपत्ता भएपछिको शोक तथा पीडादायी दिनका भोगाइहरू भावविह्वल हुँदै अर्थमन्त्रीसमक्ष बताएका थिए ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा रसुवा भन्सार कार्यालयमा कार्यरत भन्सार विभागका कर्मचारीहरू नकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल, भीमबहादुर लामा, दिनेश घिमिरे, अनिता पुरी, प्रेमप्रसाद सेढाई, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली, राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्का परेका थिए । जसमध्ये भन्सार अधिकृत नकुल शर्माको मात्रै शव भेटिएर अन्तिम सस्कार गरिएको छ । बाँकी १४ जना अझै सम्पर्कबिहिन छन् ।


