काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण भोलि सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ। प्रतियोगिताको पूर्वसन्ध्यामा नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन आयोजना गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
उद्घाटनको पूर्वसन्ध्यामा त्रिवि मैदानलाई आकर्षक रूपमा सिँगारिएको छ। अघिल्लो सिजनमै दर्शकदीर्घा र फ्लडलाइट्स जडान भइसकेको मैदानमा यसपटक दर्शकका लागि थप भौतिक संरचना र सुविधाहरू विस्तार गरिएको छ।
विजेतालाई १ करोड ५० लाख, डेढ अर्बको कारोबार हुने अनुमान
करिब एक महिनासम्म चल्ने यस प्रतियोगितामा समग्र आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँ बराबर हुने क्यानको अनुमान छ।
अन्तर्राष्ट्रिय मान्यता र अत्याधुनिक प्रविधि
एनपीएलको यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक स्वीकृति (स्याङ्सन) दिएको छ। योसँगै प्रतियोगिताले अन्तर्राष्ट्रिय टी-२० सरहको मान्यता पाएको छ भने खेलाडीहरूले बनाएका रन र लिएका विकेट अन्तर्राष्ट्रिय रेकर्डमा जोडिनेछन्।
खेललाई निष्पक्ष र विवादरहित बनाउन यसपटक अत्याधुनिक प्रविधिको प्रयोग गरिँदैछ। खेलाडीहरूले अम्पायरको निर्णयमा असहमति भए 'डिसिजन रिभ्यु सिस्टम' (डीआरएस) माग गर्न पाउनेछन्। यसका लागि एलबीडब्लू परीक्षण गर्न 'थ्रीडी बल ट्र्याकिङ' तथा ब्याट र बलको सम्पर्क जाँच्न 'एज डिटेक्सन' र 'साउन्ड वेभ' जस्ता प्रविधिहरू सञ्चालनमा ल्याइनेछ।



