क्षयरोगको शङ्कास्पद बिरामीको एआई एक्स–रेबाट खोजी गर्दै आँबुखैरेनी गाउँपालिका

 

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा क्षयरोगका शङ्कास्पद बिरामी पहिचान गर्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित एक्स–रे परीक्षण शिविर सञ्चालन हुने भएको छ।

आँबुखैरेनी गाउँपालिकाले जन्त्र संस्थाको प्राविधिक सहयोग र प्रदेश जनस्वास्थ्य कार्यालयको समन्वयमा शिविर संचालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास चन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार आगामी २०८३ कात्तिक १२ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आँबुखैरेनी गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ।

शिविरमा विशेषगरी क्षयरोगको जोखिममा रहेका समूहलाई स्वास्थ्य परीक्षणमा सहभागी हुन आग्रह गरिएको छ। उच्च जोखिम समूहमा धूमपान तथा मद्यपान गर्ने व्यक्ति, एचआईभी सङ्क्रमित, ज्येष्ठ नागरिक, विगतमा क्षयरोगको उपचार गराएका बिरामीका परिवारका सदस्य, कुपोषित बालबालिका, कमजोर स्वास्थ्य अवस्था भएका व्यक्ति तथा कडा परिश्रम गर्ने श्रमिकलाई समेटिएको छ।

एआई प्रविधिबाट सञ्चालन हुने एक्स–रे परीक्षणले क्षयरोगको शङ्कास्पद अवस्था पहिचान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। परीक्षणबाट शङ्कास्पद देखिएका व्यक्तिलाई आवश्यक थप जाँच तथा उपचार प्रक्रियामा जान सहज हुने विश्वास गरिएको छ।

गाउँपालिकाले क्षयरोगको जोखिममा रहेका व्यक्तिलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update