Odapalika - The Fourth Estate - चौथो अंग
शहीदनगर नगरपालिकाका पूर्वमेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौँ । स्यानिटरी प्याड खरिद प्रकरणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वजनप्रतिनिधि र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले आज तत्कालीन मेयर उदय कुमार यादव, उपमेयर शिलादेवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादवसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाको सशर्त अनुदानको बजेटबाट स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, तत्कालीन स्वास्थ्य संयोजक कपिलदेव प्रसाद अधिकारी, माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका प्रधानाध्यापक श्रीकृष्ण भिनवार, तत्कालीन सवइन्जिनियर सरोजकुमार महतो, रेजा ट्रेडिङ प्रालि र रेजा ट्रेडिङ दैनिकका प्रकाशक अकबर मन्सुरविरुद्ध पनि अख्तियारल मुद्दा दर्ता गरेको छ ।

यो प्रकरणमा १३ लाख ९३ हजार ६८७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै सो रकम बरावरको बिगो र बिगो अनुसारको जरिमानाका साथै कैद दाबी गर्दै मुद्दा दर्ता गरेको हो । 

रेजा ट्रेडिङ प्रालिसँग स्यानिटरी प्याड खरिद सम्झौता गर्नुअघि नै रकम भुक्तानी गरेको, शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको संख्या नखुलेको तर सम्झौता हुनुअघि नै रेजा ट्रेडिङले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको अख्तियारको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update