गण्डकीमा ‘फ्लोर क्रस’ गरेका फणीन्द्र र मनाङे मन्त्री बन्दै, आजै नीति तथा कार्यक्रम

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (मंगलबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका सांसद फणीन्द्र देवकोटालाई मन्त्री बनाउँदै छन् भने उनीसँगै स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ पनि आज मन्त्री बन्दै छन् । 

देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीमा अहिले बिहान ११ बजे शपथ खुवाउने तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

माओवादी केन्द्रको चुनाव चिह्न हँसिया–हतौडाबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले ह्विप जारी भए पनि फ्लोर क्रस गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए। सोहीबापत उनले मन्त्री पद उपहार पाउने भएका हुन् । 

माओवादी चुनाव चिह्नबाट चुनाव लडे पनि देवकोटाले आफू अर्कै पार्टीको सांसद भएको जिकिर गरिरहेका छन् भने फ्लोर क्रस गरेको भनेर माओवादी केन्द्रले कारबाही गर्ने चेतावनी दिइरहेको छ । 

नीति तथा कार्यक्रम आजै

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार लगतै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । उनले विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेर आजै नीति तथा कार्यक्रम ल्याउने तयारी मुख्यमन्त्री पाण्डेले गरेका हुन् ।

२७ सांसदसहित मुख्यमन्त्री भएका पाण्डेले राप्रपाका २, नेसपाका फणिन्द्र र स्वतन्त्र सांसद मनाङेलाई आफ्नो पक्षमा पार्दै विश्वासको मत जित्न सफल भएका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update