Odapalika - The Fourth Estate - चौथो अंग
बोलकबोल मार्फत पर्सा र सुनसरीमा नयाँ धानको कारोबार

काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनीले पर्सा र सुनसरी जिल्लामा नयाँ धानको खरिद बिक्रीका लागि बोलकबोल प्रक्रिया सुरु गरेको छ । यो बस्तुको पारदर्शी मूल्य आविष्कार गर्ने वैज्ञानिक पद्धति हो ।

बोलकबोलको माध्यमबाट कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ता दुबैलाई फाइदा हुन्छ । कम्पनीले विशेष गरी किसानले आफ्नो अन्नको प्रतिस्पर्धात्मक मूल्य प्राप्त गरुन् भन्ने उद्देश्यले बोलकबोलको सुविधा उपलब्ध गराएको हो ।

हाल राईस मिलहरूले सिधै किसान कहाँ गएर वा कृषि सहकारी तथा अन्न सङ्कन गर्ने व्यापारी मार्फत खरिद गर्ने गरेका छन् । यसरी छरिएर रहेका किसानहरू र खरिदकर्ताहरूले एकातिर सही मूल्य पाइरहेका छैनन् भने अर्कोतिर यो दुवै पक्षहरूको लागि झन्झटिलो छ । 

यसलाई व्यवस्थित गरी छरिएर रहेका किसानहरू र खरिदकर्ताहरूलाई एकै स्थानमा ल्याई बोलकबोल प्रक्रिया सुरु गरेको कम्पनीका महाप्रबन्धक नरेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

कम्पनीले पहिले पनि बोलकबोल प्रक्रिया साङ्केतिक रुपामा सुरु गरेको भएता पनि यो नयाँ पद्धती भएको र किसानहरू छरिएर रहेकाले किसानहरूलाई राम्रो सँग बुझाउन समय लाग्ने भएकोले अपेक्षित सफलता हासिल गर्न सकेको थिएन । सुरुमा कठिन भएता पनि विश्वभर प्रचलित वैज्ञानिक पद्धति बोलकबोल नै भएकोले समय सँगै यसले राम्रो स्थान लिने भएकोले अब नेपालमा उत्पादन हुने सबै प्रमुख अन्नबालीहरूको बोलकबोलको सुविधा प्रदान गर्ने कम्पनीको योजना रहेको छ ।

कम्पनीले साइलो प्रविधिमा गहुँ, मकै र भटमासको आधुनिक खाद्यान्न भण्डारण गर्दै आइरहेको छ । साइलो भण्डारण प्रविधि नेपालमा नयाँ भएकोले सुरुमा बुझाउन कठिन भएको थियो । सबैको अन्न खुला रूपमा एउटै साइलोमा भण्डारण हुने भएकोले धरैले भण्डारण गर्न मानेका थिएनन् र भण्डारण गर्नेहरूले समेत कस्तो हुने रहेछ भनेर परिक्षणको लागि थोरै मात्रामा मात्र राखेका थिए । 

सात आठ महिना भण्डारण गरेको अन्नको गुणस्तरमा कुनै कमी नआएको देखेर अहिले अग्रिम बुकिङ गर्न समेत भण्डारणकर्ता तयार भएका छन् । त्यसै गरी फिड फ्यक्टरीहरूले समेत साइलोको मकै भने पछि २५(५० पैसा प्रति केजी बढी दिन समेत तयार भैरहेका छन् । त्यसैले कम्पनीले अब आउने सिजनमा भण्डारण क्षमता भन्दा बढी माग आउने विश्वास गरेको छ । यसरी नै बिस्तारै बोलकबोलले पनि बजार लिने कुरामा कम्पनी विश्वस्त रहेकोको छ ।

बोलकबोल मार्फत कसरी धानको कारोबार हुँदैछ ?

सबैभन्दा पहिले किसान, कृषि सहकारी तथा अन्न सङ्कलन गर्ने व्यापारीले नेपाल वेयरहाउजिङ्ग कम्पनीको अक्सन प्याल्याटफममा धान लिएर आउँछन् । अक्सनका लागि आएका धानका गाडी वा ट्याक्टरहरूलाई पहिले आएकोलाई पहिलो प्राथमिकता दिने गरी राखिन्छ र धानको गुणस्तर जाँच गरिन्छ । सरकारले तोकेको समर्थन मूल्य, धानको गुणस्तर र बजारमा चलन चल्ती मूल्यलाई आधार बनाई बिक्रीकर्तालाई स्वीकार्य बोलकबोलको लागि आधार मूल्यमा तय गरिन्छ । 

आधार मूल्य वा सोभन्दा माथिको मूल्यमा किन्न इच्छुक धान खरिदकर्ताहरूले आफ्नो बोली लगाउन सक्छन् । सबैभन्दा बढी धानको मूल्यको बोली लगाउने खरिदकर्ताले उक्त गाडी वा ट्याक्टरको धान खरिद गर्न पाउँदछ । बोलकबोल मार्फत खरिद भए पश्चात् उक्त गाडी वा ट्याक्टरको काटापर्ची ९तौलको रसिद० र विल तयार गरिन्छ । यो सबै भइसके पछि खरिदबिक्री भैसकेको धानको हस्तान्तरण गरी खरिदकर्ताको आवश्यकता बमोजिम भण्डारण गर्ने वा खरिदकर्ताले भनेको स्थानमा गाडी वा ट्याक्टर पठाउने काम गरिन्छ । त्यसै गरी निर्धारित व्यवस्था बमोजिम विक्रीकर्तालाई धानको रकम भुक्तानी गरिन्छ । नेपाल वेयरहाउजिङ्ग कम्पनीले अक्सन प्याल्याटफममा धान ल्याउने देखी धानको डेलिभरी तथा विक्रीकर्तालाई रकम भुक्तानी भए सम्मको प्रक्रियालाई सहजीकरण गर्ने कार्य गरिरहेको छ ।

बोलकबोलको माध्यमबाट कारोबारले के फाइदा हुन्छ ?

बोलकबोल प्रणालीले स्वच्छ र विश्वासिलो प्रक्रिया सुनिश्चित गर्दछ । जसले खरिदकर्ता तथा बिक्रीकर्ता बिच विश्वासको वातावरण विकास गर्दछ ।

प्रतिस्पर्धात्मक प्रक्रियाबाट वस्तुको सही मूल्य निर्धारण हुने भएकाले किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न सक्छन् । साथै खरिदकर्ताले समेत प्रतिस्पर्धात्मक रूपमा आफूले खरिद गर्न चाहेको गुणस्तर र परिमाणको वस्तु सही मूल्यमा खरिद गर्न सक्छन् ।

बोलकबोलले छरिएर रहेका किसान तथा खरिदकर्ता एकै स्थानमा ल्याउने हुनाले उत्पादनको बजारसम्मको पहुँच र बजारीकरणमा यसले सहयोग पुर्‍याउँछ ।

छरिएर रहेका किसान तथा खरिदकर्ता एकै स्थानमा आएर सरल र सहज तरिकाले बोलकबोल प्रणालीको स्वच्छ र विश्वासिलो प्रक्रियामा सहभागिता जनाउन सक्ने भएकोले यो खरिदकर्ता र बिक्रीकर्ता दुवै पक्षलाई सहयोग पुर्‍याउँछ ।

यसले कृषि क्षेत्रको समग्र पक्षमा सकारात्मक प्रभाव पर्ने भएकोले समग्र कृषि क्षेत्रको विकासमा सहयोग पुर्‍याउँछ ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update