Odapalika - The Fourth Estate - चौथो अंग
आचारसंहिता उल्लंघनपछि कीर्तिपुर र काठमाडौँ–१६ मा खटियो आयोगको अनुगमन टोली 

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको जानकारी पाएपछि कीर्तिपुर नगरपालिका र काठमाडौँ वडा नम्बर १६ मा छुट्टाछुट्टै अनुगमन टोली खटाएको छ । 

यही मंसिर १६ गते आइतबार ३२ जिल्लाका ३८ स्थानीय तहमा रिक्त ४१ पदका लागि उपनिर्वाचन हुँदै छ । कीर्तिपुर नगरपालिकामा मेयर र वडा नम्बर १ र ४ मा वडाध्यक्ष तथा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । 

कीर्तिपुर र काठमाडौँ–१६ मा आचारसंहिता उल्लंघन भएको सूचना आएपछि आचारसंहिता अनुगमन टोली खटाइएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । 

उनका अनुसार काठमाडौं–१६मा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी, उपसचिव (कानून) सीता पुन श्रीष र प्रहरी उपरीक्षक सञ्जयसिंह थापा सम्मिलित अनुमगन समिति खटाइएको छ । 

यसैगरी, कीर्तिपुर नगरपालिकामा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, उपसचिव डा थानेश्वर भुसाल,  उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपाने सहभागी अनुगमन टोली खटाइएको प्रवक्ता अर्यालले बताइन् । 

आयोगले मंसिर २ गतेदेखि निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता जारी गरेको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update