पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको प्रश्न– दलको नेता बन्ने कि सामाजिक रुपान्तरणको नायक ?

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेबाट सक्रिय राजनीतिक फर्कन लागेको समाचार आइरहेका छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीबाट सक्रिय राजनीतिमा आइसकेका बेला पूर्वराष्ट्रपति भण्डारी पनि राजनीतिमा आउन लागेको चर्चा भइराखेको छ । 

तर, यही बेला कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा फर्किएर एउटा दलको नेता बन्ने कि सामाजिक रुपान्तरणको नायक बन्ने भन्ने विकल्प पूर्वराष्ट्रपतिहरुमा रहेको बताए । 

शुक्रवार काठमाडौँमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा सपना र ताराहरू’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्किर एउटा दलको नेता बन्नुभन्दा सामाजिक रुपान्तरणको नायक बन्न उचित हुने सुझाव दिएका हुन् । 

देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनका लागि काम गर्नुपर्ने भन्दै उनले देशमा रहेका दुई पूर्वराष्ट्रपतिहरुको कर्तव्य सामाजिक रूपान्तरणमा हुनुपर्ने बताए । 

‘सम्माननीय पूर्वराष्ट्रपति यहाँ हुनुहुन्छ । म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, आँखा दान गर्न मान्छेलाई प्रेरित गरे जस्तै, दाइजोले छोरीहरू जल्नबाट रोक्नुपर्ने जस्तै, बोक्सी भनेर प्रताडित हुन नलेखिएका आमाहरूको कथाहरू लेख्नका लागि, घरेलु हिंसामा परेका महिलाहरूको सन्दर्भमा सबैभन्दा बढी नायक भएर कसैले उभिनुपर्छ भने मलाई लाग्छ । सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभिनुपर्छ । यसको कमाण्ड म सम्हाल्छु भन्न सक्नुपर्छ,’ उनले भने । 

पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीले  सामाजिक परिवर्तनको झन्डालाई उठाएर प्रेरणाको श्रोत बन्नुपर्ने भन्दै महामन्त्री शर्माले भने, ‘यदी कसैले मलाई सोध्छ, तिम्रो देशको शीतल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिहरुले के गर्नुपर्छ भन्यो भने सामाजिक अभिभावक या देशमा चाहिएको छ ।’

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update