
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सम्पन्न भएको छ ।
राष्ट्रपति बनेपछि र त्यसपछि पनि एमाले मुख्यालय नगएकी पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई भेट्न पार्टी कार्यालय नै गएकी हुन् । भण्डारी २ कार्यकाल राष्ट्रपति बनेकी थिइन् ।
ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिक विषयवस्तुमाथि छलफल भएको बताइन् ।
‘उहाँसँग राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भयो । अरू विषय आधिकारिक च्यानलबाट थाहा पाउनुहुने छ,’ उनले भनिन् ।
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको बताइन् । उनले एमालेको पार्टी सदस्यता नवीकरण गरेको बताइए पनि सो नवीकरण होल्डमा राखिएको भन्ने जस्ता फरक फरक धारणा आएका थिए ।
ओली र भण्डारीबीच करिब डेढ घण्टा कुराकानी भएको हो । पूर्वराष्ट्रपति भण्डारीलाई च्यासलमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले स्वागत गरेका थिए ।
भण्डारीले यसअघि नै पार्टी राजनीतिमा आउने बताइसकेकी छिन् । यस विषयले एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा प्रवेश पाएपछि आज नेतृत्वसँग औपचारिक छलफल भएको हो ।