Odapalika - The Fourth Estate - चौथो अंग
छिन्नमस्ता गाउँपालिकाले चिसोबाट जोगाउन अति विपन्नलाई न्यानो लुगा र दाउरा दिने 

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले चिसोबाट जोगाउन अति विपन्न परिवारलाई न्यानो कपडा र दाउरा दिने भएको छ । छिन्नमस्ताको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले चिसो मौसमका कारण प्रभावित अति विपन्न परिवार र आवश्यकता भोगिरहेका व्यक्तिका लागि न्यानो कपडा र दाउरा वितरण गर्ने निर्णय गरेको अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । 

‘स्थानीय विपद् व्यवस्थापन समितिको बैठक हिजो बसेको थियो । बैठकले चिसो मौसमका कारण प्रभावित अति विपन्न परिवारहरू र आवश्यकता भोगिरहेका व्यक्तिहरूका लागि न्यानो लुगा र दाउराहरू वितरण गर्ने निर्णय गरेको हो,’ उनले वडापालिकासँग भने । 

न्यानो कपडा र दाउरा वितरण कार्यको प्रभावकारिता सुनिश्चित गर्न प्रहरी र स्थानीय तहको टोलीले संयुक्त रूपमा अनुगमन गर्ने व्यवस्था गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

चिसोको कारण कठिनाइमा परेकाहरूले आवश्यक सहयोग लिन स्थानीय तह र प्रहरीको टोलीलाई सम्पर्क गर्न पनि उनले आग्रह गरे । 

चिसोबाट जोगिन र जोगाउन एकअर्काको सहयोगका आवश्यक रहेको बताउँदै उनले सबैले आ–आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने बताइ । ‘चिसो मौसमको चुनौती सामना गर्न एकअर्काको साथ र सहयोग आवश्यक छ । यस काममा सबैले आफ्नो जिम्मेवारी निभाउनुपर्ने हुन्छ । यो प्रयास हामी सबैको सहभागिता र सहकार्यबाट सफल हुनेछ भन्ने विश्वास लिएको छु,’ अध्यक्ष चौधरीले भने । 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update