Odapalika - The Fourth Estate - चौथो अंग
आलु खेती गर्नेलाई अनुदान दिदै भद्रपुर नगरपालिका, यस्ता छन् सर्त 

काठमाडौँ । झापाको भद्रपुर नगरपालिकाको आलुखेती कार्यक्रमअन्तर्गत १५० जना किसान लाभान्वित भएका छन् ।  पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा २ हजार रुपैयाँ अनुदान दिएको थियो । 

नगरप्रमुख गणेश पोखरेलका अनुसार यो कार्यक्रम किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउनका साथै व्यावसायिक उत्पादनतर्फ प्रेरित गर्न सञ्चालन गरिएको हो । किसानको उत्पादनलाई बजारीकरण गर्न नगरपालिकाले छिट्टै विभिन्न स्थानमा बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ । 

पालिकाले उपलब्ध गराएको अनुदानपछि स्थानीय भद्रपुर–३ बेसाबारीका किसान मेवा गणेशले १० कट्ठा जमिनमा आलुखेती गरेर ३ तीन लाख ५० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको बताए ।

स्थानीय किसान मोहनलाल गनगाईँका अनुसार व्यापारी बारीसम्म नै  तरकारी किन्न आउने भएकाले बजारको समस्या छैन । पालिकाले अझै पनि प्राविधिक रूपमा स्थानीय किसानलाई सहयोग गरे आलुसँगै अन्य तरकारीखेतीमा राम्रो प्रतिफल निकाल्न सकिन्छ । 

नगरवासीलाई विषादीरहित अग्र्यानिक तरकारीप्रति आकर्षित गराउने पालिकाको उद्देश्य रहेको साथै भद्रपुर नगरपालिकाले कृषि क्षेत्रमा अन्य क्षेत्रको तुलनामा बढी बजेट विनियोजन गरेको उपप्रमुख कार्कीको भनाइ छ ।

यस वर्ष खायन आलुखेती प्रवद्र्धन कार्यक्रमका लागि पालिकाले २० लाख रुपैयाँ अनुदान वितरण गरेको जनाएको छ । किसानले आलु लगाएको क्षेत्रफलका आधारमा अनुदान रकम वितरण गरिएको नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले ‘नगरप्रमुख तरकारीखेती कार्यक्रम’अन्तर्गत कम्तीमा ५ कट्ठा जमिनमा एउटै किसिमको तरकारी खेती गर्ने किसानलाई लागतको ७५ प्रतिशत अनुदान वितरण गर्ने कार्यक्रमसमेत सञ्चालनमा  छ ।
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update