
काठमाडौँ । बाराको फेटा गाउँपालिकाले आफ्नो पालिकामा कार्यरत कर्मचारीको वर्षमा २ पटक स्तरवृद्धिका लागि मौका दिने भएको छ ।
गाउँपालिकाले स्कीकृत गरेको स्थानीय सेवाका कर्मचारीको तह/स्तरवृद्धि सम्बन्धी कार्यविधि अनुसार फेटा गाउँपालिकाको स्थानीय तह सेवामा कार्यरत स्थायी कर्मचारीहरुको तह र स्तर वृद्धिका लागि प्रत्येक वर्षको जेठ र मंसिर महिनामा ३० दिनको समय दिएर दरखास्त आह्वान गर्ने उल्लेख छ ।
यसरी दिइएको समयमा प्राप्त भएका निवेदनमाथि अध्ययन गरी निर्णय लिन प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ३ सदस्यीय शिफारिस समिति बनाइने कार्यविधिमा उल्लेख छ ।
स्तरवृद्धि गर्दा असाधारण बिदामा बसेको कर्मचारीको विदा अवधिभर स्तरवृद्धिका लागि सफिारिस नगरिने उल्लेख छ । कार्यविधिमा निजामति सेवाबाहेकका अन्य सेवाबाट स्थानीय तहमा समायोजन भइ सेवा अवधि ५ वर्ष पुगेका पाँचौ, सातौ र नवौ तहमा कार्यरत कर्मचारीलाई छैटौ, आठौ र दशौ तहमा स्तरबृद्धि गरिने उल्लेख छ ।