फेटा गाउँपालिकाले चार्जर स्पेयर र कृषि औजारको लागि ५० प्रतिशत अनुदान दिने

 

काठमाडौँ । बारा जिल्लाको फेटा गाउँपालिकाले कृषि विकास लागि चार्जर स्पेयर र कृषि औजारमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा चार्जर स्पेयर र कृषि औजार वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले जानकारी दिए ।

अनुदानमा चार्जर स्पेयर र कृषि औजार वितरण गर्न लागिएपछि गाउँपालिकाले कृषकसँग आवेदन माग गरेको छ । चैत १ गतेदेखि १५ दिनको समय दिएर माग गरिएको आवेदन अनुसार किसान छनोट गरेर वितरण गरिने गाउँपालिकाका नायव प्राविधिक सहायक कृष्णप्रसाद कानुनले जानकारी दिए । गाउँपालिकाले वितरण गर्न लागेको चार्जर स्पेयर फलफूल तथा बालीनालीमा विषादी तथा भिटामिन छर्न प्रयोग हुने र कृषि औजार सामान्य र हाते प्रकृतिका औजार हुन् । यस्तै, गाउँपालिकाले ५० प्रतिशत अनुदानमै डेलिभरी पाइप पनि वितरण गर्न लागेको छ ।

अनुदानमा कृषि उपकरण लिनको लागि आवेदन साथ पेश गर्नुपर्ने कागजातको विवरण पनि खुलाइएको छ । गाउँपालिकाका अनुसार कार्यालयले तोकेको ढाँचाको निवेदन, आवेदकको नेपाली नागरिकताको प्रतिलिपी, कृषक समुह/कृषि सहकारी/कृषि फर्मको प्रमाणपत्र वा नवीकरण गरेको प्रमाणपत्रको प्रतिलिपी, कृषक समुह वा कृषि सहकारीको हकमा निर्णयको प्रतिलिपी र जग्गाधनीको लालपुर्जाको प्रतिलिपी आवश्यक पर्ने गाउँपालिकाले जानकारी दिएको छ । मेसिनरीको लागि २ विघा र अन्यको लागि कम्तिमा १० कठ्ठा जमिन हुनुपर्ने गाउँपालिकाले जानकारी दियो ।

आवेदन प्राप्त भएपछि मागका आधारमा वितरण गरिने प्राविधिक कानुले जानकारी दिए । गाउँपालिकाले चैत महिनाभित्रै यी उपकरण वितरण गर्न लागेको छ । यस्तो अनुदानका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update