
काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं ६ कोचाबखारी र वडा नं ७ हाटीमा आधारभूत स्वास्थ्य चौकी स्थापना गरेको छ । दुवै स्वास्थ्य चौकीको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीसहितको जनप्रतिनिधिहरुले उद्घाटन गरेका छन् ।
उद्घाटन पछि बोल्दै अध्यक्ष चौधरीले भने, यो केवल एउटा भवनको उद्घाटन मात्र होइन, जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धताको ऐतिहासिक उपलब्धि हो ।
विगतमा स्वास्थ्य चौकीको अभावले गर्दा बिरामीहरूलाई सामान्य स्वास्थ्य उपचारसमेत नपाउँदा ज्यानसम्म गुमाउनु पर्ने, विभिन्न जोखिम मोलेर उपचार खोज्नुपर्ने अवस्था अव अन्त्य भएको उनको भनाइ छ ।
करिब १ हजार ५० घरधुरीका १० हजारभन्दा बढी जनसंख्या यो स्वास्थ्यचौकीबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । उनीहरुले अब आफ्नै गाउँमा स्वास्थ्य सेवा पाउने अध्यक्ष चौधरी बताउँछन् ।
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हक को रूपमा सुनिश्चित गरेको छ । अध्यक्षका अनुसार पालिकाले यो सिद्धान्तलाई व्यवहारमा परिणत गर्न ठोस कदम चालेकये छ । यसअघि पनि गाउँपालिकाले पालिकाको आफ्नै ल्याबमार्फत ७२ प्रकारका रगत जाँचको सेवा प्रदान गर्दै आएको छ । अब पालिकाले आफ्नै बजेटबाट स्वास्थ्य चौकीहरूलाई थप सबल बनाउन एमबिबिएस डाक्टरको व्यवस्थाका लागि पहल गरिसकेको छ ।
स्वास्थ्य सेवा कुनै विशेष सुविधा होइन, यो प्रत्येक नागरिकको हक हो। हामी दृढप्रतिज्ञ छौं कि छिन्नमस्ताका जनतालाई स्वास्थ्य सेवाको अभावमा पीडित हुन दिँदैनौं, चौधरी भन्छन्, कठिनाइहरू आए पनि जनताको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हुनेछ । यो केवल सुरुवात मात्र हो, हामी अझ बलियो संकल्पका साथ अगाडि बढ्नेछौं ।