
काठमाडौँ । बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ३ र ७ मा आवासीय घरको बीमा गर्न सुरु गरेको छ । उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बीमितलाई बिमाको प्रमाणपत्र हस्तान्तरण गरेर बुधबारदेखि आवासीय बिमा सुरु गरे ।
मेयर विष्टले आवासीय घर बीमा कार्यक्रमले विपद् जोखिममा रहेका परिवारलाई आर्थिक रूपले सशक्त बनाउन खोजिएको बताए । उनले विपद्पछि पनि परिवारमा थप पीडा नहोस् भनेर न्यून आय भएका परिवारलाई लक्षित गरेर आवासीय बीमा कार्यक्रम सुरु गरिएको बताए ।
विपद् जोखिम न्यूनीकरणका लागि सुरु गरिएको कार्यक्रममा पहिलो चरणमा दुई वडाका दुई वडाका करिब ७५० घरमध्ये १५१ समावेश हुनेछन् । दुई वडामध्ये नेपालगञ्ज–३ का १०९ र ७ का ४२ घर समेटिएका छन् । नगरले विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएर काम गरिरहेको मेयरको भनाइ छ ।
उपमहानगरपालिका विपद् व्यवस्थापन समिति संयोजक समीरप्रताप सिंहले विपद् दुर्घटना बिमा र जोखिमग्रस्त क्षेत्रका वडामा आवास बिमा कार्यक्रम अगाडि बढाइएको बताए । आवासीय घर बीमाका लागि उपमहानगरपालिकाले १५ लाख रुपैयाँसम्मको बीमा गर्दा प्रिमियम तिरिदिने तथा १५ लाखभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरेको छ ।
१५ लाखको बीमा गर्दा ५८४ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बीमा कम्पनी नेपालगञ्जका प्रबन्धक नवीन शर्मा पौडेलले बिमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग अलग बिमा हुने जानकारी दिए ।
पालिकाको वडा नं ३ र ७ मा आवासीय घरको घनत्व बढी हुँदा बाटो साँघुरो र पुरानो बस्ती भएकाले विपद् जोखिम बढी छ । घर जीर्ण भएकाले ती स्थानबाट आवासीय घर बीमा कार्यक्रम कार्यान्वयन गर्न लागिएकोे उपमहानगरपालिकाले जनाएको छ ।