Odapalika - The Fourth Estate - चौथो अंग
जुम्लाका तातोपानी र चन्दननाथ सरकारबीच नयाँ सम्बन्ध

काठमाडौँ । जुम्लाका २ वटा स्थानीय तहले आसपसमा भगिनी सम्बन्ध स्थापना भएको घोषणा गरेका छन् । चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाबीच स्थानीय पर्यटन प्रवद्र्धन गर्न भगिनी सम्बन्ध कायम गरिएको बताइएको छ । 

दुवै पालिकाको सीमा क्षेत्र एकआपसमा जोडिएकाले अधिकांश विषय संयुक्त रूपमा सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । 

समन्वय सहकार्य र साझेदारीमार्फत दुई पालिकाबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापित गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत बताउँछन् । 

गाउँपालिकाका अध्यक्ष चौलागाईं र चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले १५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध गाँसेका हुन् । 

शिक्षा, स्वास्थ्य खानेपानी, जलविद्युत, यातायात पर्यटनलगायत क्षेत्रमा दीर्घकालीन योजना बनाएर सहलगानीमा अघि बढ्ने भगिनी सम्बन्धको उद्देश्य छ ।

दुवै पालिकाको संस्थागत सवलता र सुदृढीकरणमा सहकार्य गर्ने, असल अभ्यास तथा सफल अनुभवको आदानप्रदान गर्ने, स्थानीय पर्यटन प्रवद्र्धन गर्ने, प्रकृति र पर्यावरणको संरक्षण गर्ने, स्थानीय सुशासनमा सहकार्य गर्ने, स्थानीय सरकारबीच साझेदारी कार्यक्रम गर्ने, स्थानीय उत्पादन र बजार व्यवस्थापनमा सहकार्य गर्ने भगिनी सम्बन्धका क्रममा भएको सहमतिपत्रमा उल्लेख छ ।

मानवीय पालिका बनाउने, आपसीहितका लागि अध्ययन तथा अवलोकन गर्ने, फोहरमैला व्यवस्थापनमा साझा लगानी गर्ने, सीमा विवाद क्षेत्र निर्धारण, तिला नदीको संरक्षण र सवारी साधनको प्रयोग सहलगानीमा गर्ने सहमतिपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update