Odapalika - The Fourth Estate - चौथो अंग
छिन्नमस्ता गाउँपालिकामा अत्याधुनिक बर्थिङ सेन्टर स्थापना

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ खुदीबखारीमा बर्थिङ सेन्टरको स्थापना गरिएको छ ।  २४सैँ घण्टा संचालनमा ल्याइन लागेको यो सेन्टरको शनिवार गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले उद्घाटन गरे । 

उद्घाटनपछि बोल्दै उनले २४सै घण्टा सञ्चालनमा रहने बर्थिङ सेन्टर सुरक्षित मातृत्व र महिला स्वास्थ्यका लागि ऐतिहासिक उपलब्धि भएको बताए ।

‘स्वास्थ्य सुविधाको न्यून पहुँच र जोखिमपूर्ण सुत्केरी प्रक्रियाको चुनौती झेल्दै आएका खुदीबखारी र वरपरका बासिन्दाहरूका लागि यो बर्थिङ सेन्टर जीवन परिवर्तन गर्ने सुविधा बनेको छ, उनले भने, ‘इम्प्याक्ट नेपालको सहयोग र छिन्नमस्ता गाउँपालिकाको समन्वयमा स्थापना भएको यो स्वास्थ्य केन्द्रले अब स्थानीय महिलाहरूलाई गर्भावस्था, सुत्केरी सेवा र नवजात शिशुको हेरचाहमा गुणस्तरीय, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्नेछ ।’

यो केन्द्र २४ घण्टा सञ्चालनमा रहने सुविधा सहितको हो । आपतकालीन अवस्थाहरूमा समेत चाँडो उपचार र सेवा सुनिश्चित गर्ने पालिकाको भनाइ छ ।

‘यो केवल सुविधा होइन, महिलाको जीवन रक्षा, स्वास्थ्यको सम्मान र समावेशी विकासतर्फको दृढ प्रतिबद्धता हो,’ अध्यक्ष चौधरी भन्छन् । 

यो स्वास्थ्य चौकीबाट पालिकाका हाट्टि, कुपहि, रामपुरा, खुदिबखारी लगायतका महिला लाभान्वित हुनेछन् । अनुभवी जनशक्ति, औषधोपचार, सुत्केरी कक्ष र आवश्यक सेवा उपलब्ध हुने भएकाले पनि उनीहरुलाई सहज हुने अध्यक्ष चौधरीको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update