Odapalika - The Fourth Estate - चौथो अंग
फेसबुक पेजमा हाजिरी जवाफ चलाएर ५ सयको रिचार्ज कार्ड बाँड्छ कुमारी बैंक

काठमाडौँ । कुमारी बैंकले आफ्नो सामाजिक सञ्जाल पेज फेसबुकमा अनौठा प्रश्नहरु सोधेर विजेतालाई ५ सय रुपैयाँको मोबाइल टपअप प्रदान गर्ने गरेको छ ।

बैंकको फेसबुक पेजमा प्रत्येक साता नेपालसँग सम्बन्धित एउटा प्रश्न सोध्ने र सही जवाफ दिने व्यक्तिहरुमध्येबाट एक जनालाई गोला प्रथाबाट विजेता घोषणा गरी ५ सय रुपैयाँको रिचार्ज उपलब्ध गराउने गरिएको हो ।

बैंकले नेपालको पहिलो अस्पताल कुन हो, फेवातालको बीचमा रहेको मन्दिरको नाम के हो, नेपालमा कतिवटा राष्ट्रिय निकुन्ज रहेका छन्, पहिलो राष्ट्रिय निकुन्ज कुन हो ? आदिकवि भानुभक्त आचार्यले अनुवाद गरेको महाकाव्य कुन, नेपालमा कतिवटा स्थानीय तह छन्, छिन्नमस्ता देवीको मन्दिर कुन जिल्लामा पर्छ भन्ने जस्ता नेपालसँग सम्बन्धित प्रश्न सोध्ने गरेको छ । यस्ता प्रश्नको सही जवाफ दिनेहरुलाई गोला प्रथाबाट विजेता घोषणा गरी प्रत्येक साता ५ सय रुपैयाँको मोबाइल रिचार्ज उपलब्ध गराउने गरिएको छ ।

किन राखियो यो स्कीम ?

बैंकले विगत लामो समयदेखि यो स्कीम चलाएको उसको फेसबुक पेजमा देखिन्छ । बैंकले सोधेका अधिकांश प्रश्नहरु नेपालसँग सम्बन्धित भए पनि वित्तीय साक्षारता वा बैंकिङ जानकारीसँग सम्बन्धित छैनन् । बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय साक्षारतासँग सम्बन्धित विषयमा सर्वसाधारणलाई जानकारी गराउन सक्छन् ।

kumari-bank-facebook-1749808380.jpg

कुमारी बैंक, नेपालको बैंकिङ वा वित्तीय साक्षारतासँग सम्बन्धित प्रश्न नगरी अनौठा प्रश्न सोधेर किन यसरी उपहार बाँड्ने गरिएको भनेर वडापालिकाले बैंकको कर्पाेरेट कम्युनिकेसन प्रमुख उदितबहादुर सिंहलाई सोधेको छ । उनले नेपालबारे जानकारी दिनको लागि यस्तो प्रश्न सोध्ने गरिएको बताए ।

‘हामीले सोध्ने गरेको प्रश्न नेपालमा बस्ने वा नेपालीका लागि मात्रै होइन, संसारभरका मान्छेहरुका लागि हो । सबैले भाग लिन पाउँछन् । हामीले सोधेका प्रश्नमा नेपालबारे जानकारी समावेश हुन्छ । नेपालबारे जानकारी प्रदान गर्नु हामी सबैको कर्तव्य हो, त्यसैले यस्ता प्रश्न सोधिएको हो,’ सिंहले वडापालिकासँग भने ।

यसरी उपहार बाँड्न पाइन्छ ?

बैंक तथा वित्तीय संस्थाहरुको मुख्य काम भनेको बैंकिङ सेवा तथा परामर्श दिनु र आम सर्वसाधारणमा वित्तीय साक्षारता अभिबृद्धि गर्नु हो । तर, कुमारी बैंकले भने बैंकिङसँग कुनै साइनो, सरोकार नै नभएको प्रश्न सोध्दै गोलाप्रथाबाट उपहार बाड्ने गरेको छ । 

nirdeshn13-1749808659.jpg

बैंकले संचालन गरेको यो स्कीम नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको प्रावधान अनुकल भने देखिदैन । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनको निर्देशन नं. १६(१३) मा ‘निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उदेश्यले वित्तीय ग्राहकलाई उपहार, चिठ्ठा लगायतका कार्यक्रम संचालन गर्न नपाइने’ भनिएको छ । यद्यपि, कुमारी बैंकले संचालन गरेको यो उपहार कार्यक्रम निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उदेश्यले गरिएको हो भन्ने पुष्टी हुँदैन । 

बैंकले वित्तीय साक्षारता सम्बन्धी कार्यक्रमहरु संचालन गर्न भने रोकिएको छैन । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको निर्देशन नं. २० (१०) मा वित्तीय साक्षारतासँग सम्बन्धित कार्यक्रम संचालन गर्नुपर्ने भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update