Odapalika - The Fourth Estate - चौथो अंग
सूर्योदय नगरपालिकाभित्रका ३२ बुहारीलाई स्नातक पढ्न छात्रवृत्ति 

काठमाडौँ । इलामको सूर्योदय नगरपालिकाले ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तह अध्ययनका लागि छात्रवृत्ति सम्झौता गरेको छ ।

नगरपालिकाले गरिब, अध्ययनबाट टाढिएका, तथा दीर्घरोगीका परिवारकी छोरीबुहारीलाई निःशुल्क उच्च शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित करफोक बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययन गर्न छात्रवृत्ति सम्झौता गरेको हो ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नवीन पौडेलका अनुसार वडाबाट सिफारिस भएका ३२ जना छोरीबुहारीसँग औपचारिक सम्झौता भइसकेको छ । प्रत्येक विद्यार्थीका लागि ३२ हजार ९०० रुपैयाँका दरले १० लाख ५२ हजार ८०० रुपैयाँ क्याम्पसलाई प्रदान गरिने सम्झौता गरिएको हो ।

शाखा प्रमुख योगनिधि भट्टराईका अनुसार नयाँ तयार गरिएको ‘छोरीबुहारी तथा अन्य छात्रवृत्ति वितरण तथा व्यवस्थापन निर्देशिका–२०८१’ अनुसार अबदेखि छात्रवृत्ति वितरण प्रक्रिया अघि बढाइएको हो । 

नगरप्रमुख रणबहादुर राईले कार्यक्रम सुरु भएयता पढाइ छाडेका युवतीलाई फेरि शिक्षामा फर्काउन सहज भएको बताए । नगरपालिकाले पहिलो वर्षमा नतिजा सन्तोषजनक भए दोस्रो वर्षमा निरन्तरता दिने व्यवस्था गरेको छ । नतिजा असफल भएमा दोस्रो वर्षको शुल्क विद्यार्थी आफैँले बेहोर्नुपर्ने छ । विगत ६ वर्षदेखि सञ्चालनमा रहेको छोरीबुहारी शिक्षा कार्यक्रममा हालसम्म २६६ जना सहभागी भइसकेका छन् । तीमध्ये २३ जनाले स्नातक तह उत्तीर्ण गरिसकेका छन् 
 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update