
काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको ११औँ नगर सभामा मेयर अजयप्रकाश जयसवालले नीति तथा कार्यक्रमसँगै बजेट पेश गरेका हुन् ।
नगरसभामा उनले चालु खर्चतर्फ ३९ करोड ४६ लाख रुपैयाँ तथा पुँजीगत खर्चतर्फ १४ करोड ७९ लाख रुपैयाँ गरी कुल ५४ करोड २५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
बजेट र नीतिले आर्थिक विकास, कृषि तथा औद्योगिक उत्पादन, रोजगारी सिर्जना उत्पादनशील क्षेत्र विकास निर्माणलाई सामाजिक जनजीवनमा थप क्षति हुन नदिई सुचारु गरी तीव्रता दिइने, स्वास्थ्य, शिक्षा लैगिक समानता एवं अन्य सामाजिक तथा सांस्कृतिक क्षेत्रमा कार्यक्रम सञ्चालन र गुणस्तरीय सेवा प्रबाह गरी स्वस्थ शिक्षित, न्यायपूर्ण र गतिशील सामाजिक जीवनको स्थापना गरिने लक्ष्य राखेको मेयरकोभ नाइ छ ।
प्रस्तुत नीति तथा कार्यक्रम तथा आयोजनाको पुनः प्राथमिकीकरण गर्ने, फजुल खर्च रोक्ने वित्तीय अनुशासन कायम गर्ने, उत्पादनशील तथा रोजगारमूलक क्षेत्रमा लगानी केन्द्रित गरिने र रोजगारी गुमाएका श्रमिक र साना किसान, गरिब, विपन्न वर्गका परिवारलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, सिप विकास र रोजगारीको अवसर प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख जयसवालले जानकारी दिए ।
नगर अधिवेशनलाई सम्बोधन गर्दै नगरप्रमुख जयसवालले नीति तथा कार्यक्रम र बजेट अन्तर्गत वर्षभरि गरिने विकास कार्य योजनाका साथै विभिन्न जनमुखी योजना जनताको आधारभूत आवश्यकता, बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायत विभिन्न कार्यलाई प्राथमिकताको सूचीमा राखिएको बताए ।
नगरप्रमुख जयसवालले सामाजिक न्यायसँगै नगरलाई सुखी र समृद्ध बनाउने उद्देश्यले विभिन्न जनमुखी कार्य तथा योजना नीति तथा कार्यक्रममा राखिएको हुँदा यहाँका आमनागरिक स्थानीय सरकारको योजनाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाले सघीय बजेटबाट समानीकरण अनुदान, ससर्त अनुदान चालु पूँजीगत, राजस्व बाँडफाँट, सघीय सरकार समपूरक, वित्तीय समानीकरण (प्रदेश सरकार), विशेष अनुदान (प्रदेश सरकार), आन्तरिक राजस्व प्राप्तिका आधारमा उक्त बजेट प्रस्तुत गरिएको जनाएको छ ।