
काठमाडौँ । असार १५ गते स्वास्थ्य बीमा बोर्डले एउटा सार्वजनिक सुचना प्रकाशित गर्यो । असार १० गतेको मिति राखिएको सुचनाको विषय थियो– प्रथम सेवा विन्दु हटाइने सम्बन्धमा ।
सुचना प्रथम सेवा विन्दु रहेका सबै सामुदायिक र निजी स्वास्थ्य संस्थाको लागि थियो । र, सुचनाको व्यहोराले भन्छ– प्रमुख सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था भएकोले २०८२ साउन १ गतेदेखि पहिला प्रथम सेवा विन्दुको रुपमा रहेका सामुदायिक र निजी अस्पताल अब प्रथम सेवा विन्दुको रुपमा रहने छैनन् ।
बोर्डले सार्वजनिक गरेको सुचना यत्ति हो । तर, सामाजिक संजालहरुतिर अब स्वास्थ्य बीमामा रेफर नचाहिने भन्ने प्रकारले प्रचार प्रसार भएको छ । सामाजिक संजालहरुतिर स्वास्थ्य बीमा गराएका व्यक्तिहरुले सो कार्यक्रम संचालन भएका जुनसुकै अस्पतालमा गएर पनि सेवा लिन सकिने भन्ने आशयका अभिव्यक्तिहरु भाइरल भएका छन् ।
अहिलेसम्मको व्यवस्था अनुसार स्वास्थ्य बीमा सेवाबाट उपचार गराउनको लागि सबैभन्दा पहिला प्रथम सेवा विन्दु तोकिएका अस्पतालमा जानुपर्छ । प्रथम सेवा विन्दु तोकिएका अधिकांश अस्पतालहरु सरकारी अस्पताल मात्रै हुन् । र, ती प्रथम सेवा विन्दु तोकिएका सरकारी अस्पतालहरुले सकेसम्म उपचार सोही स्थानमा गर्ने र त्यहाँ उपचार नभए अर्काे अस्पतालमा विरामी रेफर गर्ने गरिन्छ ।
स्वास्थ्य बीमा बोर्डले अब रेफर नै गर्नु नपर्ने व्यवस्था गरेको हो ? हामीले यो प्रश्न बोर्डका सुचना अधिकारी विकेश मल्लसँग गरेका छौं । उनले रेफर गर्नुपर्ने अहिलेको व्यवस्था नहटेको बताए ।
‘कतिपय स्थानमा सरकारी स्वास्थ्य संस्था (सरकारी अस्पताल) नभएको अवस्थामा बोर्डले सामुदायिक र केही निजी स्वास्थ्य संस्था (अस्पताल) हरुलाई पनि प्रथम सेवा विन्दु तोकेको थियो । अब सबै स्थानीय तहमा सरकारी स्वास्थ्य संस्था (अस्पताल) हरु छन् । पहिला प्रथम सेवा विन्दु भनेर तोकिएका सामुदायिक र निजी स्वास्थ्य संस्थाहरु अब हटाउने र सरकारी स्वास्थ्य संस्था (अस्पताल) मात्रै प्रथम सेवा विन्दु रहने भनिएको हो । रेफर गर्नु नपर्ने भन्ने होइन,’ सुचना अधिकारी मल्लले वडापालिकासँग भने ।
स्वास्थ्य बीमा बोर्डले अबदेखि भने सरकारी अस्पताललाई मात्रै प्रथम सेवा विन्दु मान्ने भनेर व्यवस्था गरेको हो । आगामी साउन १ गतेदेखि लागू हुने भनेको यही व्यवस्था हो । प्रथम सेवा विन्दुको रुपमा रहेको अस्पतालबाट अर्काे अस्पतालमा उपचार गराउनु पर्ने भएमा रेफर भने अनिवार्य नै छ ।