
काठमाडौँ । लहान नगरपालिकाले ३ वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।
नगरपालिकाका २४ वटै वडामा ‘रोटेसन’को आधारमा प्रत्येक महिनाको २२ गते गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिँदै आएको छ । आइतबार वडा नं २२ मा आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले ४५ जनालाई पोषण प्याकेज हस्तान्तरण गरे । उनका अनुसार यो कार्यक्रम गत स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएको प्रतिबद्धता अनुसार सुरु गरिएको हो ।
नगरपालिकाभित्र उल्लेख्य दलित र विपन्न समुदाय रहेकोले उनीहरूलाई लक्षित गर्दै कार्यक्रम बनाइएको मेयरको भनाइ छ । उनका अनुसार कार्यक्रमले हाल जनस्तरमा सकारात्मक प्रभाव पारिरहेको र आगामी दिनमा अझ व्यापक बनाइनेछ । कार्यक्रमको प्रभावबारे बोल्दै वडा नं २२ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरले पनि यस योजनाले महिलाहरूमा स्वास्थ्य सचेतना बढेको बताए ।
नगरपालिकाको स्वास्थ्य शाखाकी कर्मचारी रीता यादवका अनुसार यो कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यमा सकारात्मक असर पारेको छ । पोषण प्याकेजमा चामल, दाल, नून, तेल, चना, मोटर, सोयाबिनलगायतका खाद्य सामग्री समावेश गरिएको छ ।
नगरप्रमुख चौधरीले यसै वडाको तरेगनामा यही वर्षदेखि ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइने जानकारी दिए । नगरपालिकाको स्वास्थ्य शाखाले यस सम्बन्धमा आवश्यक सबै प्रक्रिया पूरा भइसकेको जानकारी दिएको छ ।
लहान नगरपालिकाको दुर्गम क्षेत्र मानिने तरेगनामा सञ्चालनमा आउन लागेको यो बर्थिङ केन्द्रबाट स्थानीय महिलाहरूलाई सुरक्षित र सहज प्रसूति सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ ।