Odapalika - The Fourth Estate - चौथो अंग
कुपोषण अन्त्यका लागि टिकापुरमा जुट्दैछन् तीन तहकै सरकार 

काठमाडौँ । टिकपुर नगरपालिकाले बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि बालबालिका खोजी थालेको छ । संघीय सरकारको सहयोगमा ६ महिनायता ५ वर्षमुनिका बालबालिकाको पोषणको लेखाजोखा गरेर पोषण सुधारका कार्य भइरहेको नगरपाकिलाले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले समेत कुपोषण भएका बालबालिकाको खोजीमा सघाइरहेको छ ।  

टीकापुर अस्पतालसहित ५ स्वास्थ्य संस्थामार्फत बालबालिकाको पोषण लेखाजोखा गर्ने,  कुपोषित बालबालिकाको उपचारका कार्य भइरहेका छन् । टीकापुरमा अहिले ३० जना बालबालिका शीघ्र कुपोषण भएका र १२० जना बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । 

स्वास्थ्यकर्मीले समुदायमौ पुगेर तौल र लम्बाइसमेत नापजाँच गरी पोषणको लेखाजोखा गर्न थालेपछि गत वर्षका तुलनामा टीकापुरमा यस वर्ष कुपोषण भएका बालबालिका बढी भेटिएका नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । सरकारले देशैभरि कुपोषणको जोखिममा रहेका बालबालिका खोजीका लागि स्मार्ट सर्भे गरेको छ, जसमा देशैभरि कुपोषित बालबालिकाको संख्या बढी देखिएको छ ।

विगतमा महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा पाखुराको नाप र तौललाई मात्र आधार मानेर गरिने कुपोषण परीक्षण हाल स्वास्थ्यकर्मी स्वयंले उचाइ र तौलका आधारमा मापन थालेपछि कुपोषण भएका बालबालिका बढिरहेका छन् । 

चिकित्सकका अनुसार कुषोषण देखिएका र लक्षण भेटिएकालाई ३ महिनासम्म नियमित तयारी खाना खुवाउन भनिएको छ । प्रादेशिक अस्पताल टीकापुरमा शीघ्र कुपोषण भएका ६ बच्चाले हाल तयारी खाना खाइरहेका छन् । अस्पतालमा वडावडामा हुने वृद्धि अनुगमन र बहिरङ्ग कक्षमा उपचार सेवा लिन आएका बच्चाबाट पहिचान भएका बच्चाको पोषण सुधारका लागि उपचार र खाना खुवाउने गरिएको अस्पतालका नर्सिङ निरीक्षक निलम रावल बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update