
काठमाडौँ । टीकापुर नगरपालिकाले स्थानीय उत्पादन प्रवद्र्धन र व्यवसायीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।
नगरप्रमुख रामलाल डगौंराका अनुसार स्थानीय उत्पादन प्रवद्र्धन र व्यवसायीलाई प्रोत्साहित गर्न वेतबाँसबाट बनेका फर्निचर निर्माण र वेचविखन तिब्र भएको छ ।
उनका अनुसार यस्ता सामग्रीबाट बनेका फर्निचर वातावरणमैत्री हुनाका साथै स्थानीयस्तरमा नै बन्ने भएकाले उत्पादकलाई प्रोत्साहनका लागि पनि नगरपालिकाले प्रयोगमा जोड दिएको हो ।
नगरले वेतबाँसका फर्निचर मात्र होइन, थारू समुदायको सांस्कृतिक प्रतीक करुवा, ढकिया पनि प्रयोगमा ल्याएको छ । नगरपालिका कार्यालयका हरेक टेबलमाथि राखिएको माटोको करुवाले स्थानीय थारू संस्कृतिको संरक्षण र प्रवद्र्धनमा जोड दिएको उनको भनाइ छ ।
नगरपालिकाले स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिई उद्यम विकास, रोजगारीको सृजना र स्थानीय सीपलाई प्रोत्साहन दिइरहेको छ । नगरप्रमुखको कार्यकक्षमा राखिएका सोफा, कुर्सी, टेबल सबै स्थानीय उद्योगमा बनेका हुन् ।
स्थानीय तिलगङ्गा वेतबाँस फर्निचरका सञ्चालक भरतलाल विक नगरपालिकाको पहलले स्थानीय युवालाई रोजगार दिने मात्र नभई समुदायको आर्थिक सशक्तीकरणमा पनि योगदान पु¥याएको बताउँछन् । ४० जनाभन्दा बढी स्थानीयले उद्योगमा रोजगार पाएका छन् ।
वेतबाँसका फर्निचर बनाउन आवश्यक पर्ने कच्चापदार्थ टीकापुरकै सत्ती कर्णाली सामुदायिक वनबाट प्राप्त हुन्छ । २५८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन नेपालकै सबैभन्दा बढी वेत उत्पादन गर्ने वनका रूपमा परिचित छ ।
वेतका कारण स्थानीय उपभोक्ताले रोजगारी पाउने गर्दछन् । प्रत्येक वर्ष फागुन १५ गतेपछि दुई महिनासम्म वेत काट्ने गरिन्छ । वेत काटेबापत स्थानीय उपभोक्ताहरूले प्रतिकिलो १० रुपैयाँका दरले पारिश्रमिक पाउने गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।
वेत चारदेखि पाँच वर्षमा तयार हुने गर्छ । स्थानीय र बाह्य बजारमा समेत वेतबाँसबाट उत्पादित सामग्रीको उच्च माग भएकाले सामुुदायिक वनले विगतदेखि नै वेतको संरक्षण र सदुपयोग गर्दै आएको छ ।
टीकापुर नगरपालिकाले वडा नं ७ मा समेत वेतबाँसबाट बनेका फर्निचरलाई प्राथमिकता दिएको छ । नगरपालिका स्थानीय सीप र उत्पादन प्रवद्र्धनका लागि प्रमुख अभिभावक पनि भएकाले आगामी दिनमा पनि वेतबाँसका सामग्रीलाई प्राथमिकता दिइने नगरप्रमुखको प्रतिबद्धता छ ।