
काठमाडौँ । उपत्यकाभित्रै रहेका स्थानयि तहका कतिपय वडाहरु पहिरोको जोखिममा देखिएका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिकाका दर्जनभन्दा बढी स्थान पहिरोको जोखिममा रहेको नगरपालिकाले जनाएको छ ।
चन्द्रागिरिका वडा नम्बर १, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्षको असोजमा आएको अविरल वर्षका कारण पहिरोको चपेटामा परेका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा छन् ।
यसअघि पहिरोको समस्या नदेखिएका कतिपय स्थानमा यसपटक पहिरो गई जनधनको क्षति हुने देखिएको नगरपालिकाले जनाएको छ ।
उच्च जोखिम मानिएका ३ वटा वडामध्ये वडा नं २ बढी उच्च जोखिममा छ । गत वर्ष सोही स्थानमा पहिराका कारण घरहरू पुरिनुका साथै २ जनाको मृत्युसमेत भएको थियो ।
वडा नं १ का वडाध्यक्ष हरि मगरले वडाको खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिको क्षेत्र उच्च जोखिममा रहेको बताए । विकास निर्माणका क्रममा जथाभावी डोजर लागेका स्थानमा पहिरो जाने, भूक्षयलगायतको समस्या देखिएको उनको भनाइ छ ।
आफ्नो घर पहिरोले लड्न लागेकाले बचाइदिन आग्रह गर्दै नगरपालिका आएकी वडा नम्बर २ की अम्बिका सञ्जेलले जथाभावी डोजर चलाउने र वर्ष अगाडि निर्माण सम्पन्न नगर्दा पहिरो जाने गरेको बताइन् ।
वडा नं ९ स्थित शान्ति स्तूपाका कारण गएको पहिरोको हालसम्म पनि व्यवस्थापन भएको छैन । जोखिम न्यूनीकरणका प्रारम्भिक काम भए पनि दीर्घकालीन समाधानका लागि बायो इञ्जिनियर गरिउको छैन । नगरपालिकाका प्रमुख घनश्याम गिरीले यस वर्ष आकस्मिक विपद् व्यवस्थापनका लागि ३ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको जानकारी दिए ।