Odapalika - The Fourth Estate - चौथो अंग
व्यास नगरपालिकाका गर्भवतीलाई पोषण खर्च

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि गत आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण रकम प्रदान गरेको छ । 

गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख ) अन्तर्गत जनही ५ हजार रुपैयाँका दरले २४३ जनालाई १२ लाख २५ हजार रुपैयाँ रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले रकमको व्यवस्था गरिएको उनले बताए । आर्थिक रूपमा कमजोर महिलालाई उक्त रकम प्रदान गरिएको हो । 

नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा ३ पटक (४, ६ र ८ महिना) स्वास्थ्य गरेको गर्भवतीलाई ८ महिनापछि ५ हजार रुपैयाँ प्रदान गर्ने कानुनी व्यवस्था छ । 

नगरपालिकाले ५६ जनालाई अपाङ्गता भएका र १२४ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको पनि जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update