
काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोग तथा मेरुदण्ड पक्षघात भएका बिरामीको औषधी उपचार खर्च प्राप्त गरिरहेका लाभग्राहीलाई सो खर्च नियमित प्राप्त गर्नको लागि लाभग्राही सुचीकरण नवीकरण गर्न भनेको छ ।
गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशित गरी चालु आर्थिक वर्ष २०८२।०८३ मा नियमित औषधी उपचार खर्च प्राप्त गर्नको लागि २०८२ भदौ मसान्तसम्म लाभग्राही आफै आफ्नो वडा कार्यालय तथा स्वास्थ्य शाखामा उपस्थित भई निवेदन दिई अनिवार्य रुपमा नवीकरण गर्न भनेको छ ।
‘तोकिएको समयमा नवीकरण नगराएमा औषधी उपचार खर्च प्राप्त हुने छैन । कुनै पनि लाभग्राहीको औषधी उपचार खर्च छुट्न गएमा र निजले पुन प्राप्तिका लागि निवेदन दिएमा निवेदन पश्चात नयाँ लाभग्राही सरह औषधी उपचार खर्च प्राप्त गर्न सकिने व्यहोरा अनुरोध छ,’ सुचनामा भनिएको छ ।
के–के चाहिन्छ कागजात ?
गाउँपालिकाले प्रकाशित गरेको सुचना अनुसार लाभग्राही सुचिकरण नवीकरणको लागि वडा कार्यालयको सिफारिस पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, अपाङ्गता भएका व्यक्तिको हकमा पालिकाबाट जारी भएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि,आवश्यकता अनुसार बसाई सराई दर्ता प्रमाणपत्र तथा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, अनुसूची १ बमोजिमको ढाँचामा चिकित्सकको सिफारिस, अनुसूची २ दफा ३ बमोजिमको ढाँचामा निवेदन अनिवार्य, बैंक खाता रहेको चेकको फोटोकपी अनिवार्य चाहिन्छ ।
अशक्त भएका लाभग्राहीको हकमा निजको नजिकको हकदार मार्फत नवीकरण गर्ने व्यवस्था मिलाउन सकिने गाउँपालिकाले जनाएको छ ।