Odapalika - The Fourth Estate - चौथो अंग
व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा ठेक्कामार्फत सञ्चालित ३३ योजनामध्ये १५ योजना सम्पन्न गरेको छ । 

नगरपालिका योजना तथा पूर्वाधार विकास शाखाका अनुसारे कूल एक हजार ५७ योजनामध्ये ९९५ योजना सम्पन्न भएका हुन् । 

उपभोक्ता समितिबाट सञ्चालन भएका एक हजार २४ मध्ये ९८० र ठेक्काबाट सञ्चालन भएका ३३ योजनामध्ये १५ योजना सम्पन्न भई १८ वटाको सम्झौताको चरणमा छन् ।  उपभोक्ता समितिबाट सञ्चालित योजनामध्ये ४० वटाको सम्झौता भएको र चार वटा सम्झौता हुन नसकेको योजना शाखा प्रमुख भेषराज तिवारीले जानकारी दिए ।

‘विश्व बैंकको आर्थिक सहयोगमा नेपाल सहरी तथा शासकीय पूर्वाधार आयोजना अन्तर्गत व्यास नगरपालिकाको– ७, ९, १० र ११ मा पर्ने पराशर मार्गमा १०।६ किमी कालोपत्रका लागि ठेक्का भइ काम सुरु भइरहेको छ,’ उनले भने ।

उक्त योजनाका लागि रु ४० करोड ८३ लाख ३५ हजार ९२१ बजेट रहेको यस आयोजनाको हालसम्म भौतिक प्रगति १७.४५ प्रतिशत छ । बुल्दी खोला मोटरेबल (करङकाठ बसपार्क) पुल रु छ करोड ५० लाखमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । 

‘व्यास नगरपालिका–५ मानहुँकोट सिद्धबाबा मन्दिर रु बीस लाख दुई हजार ९५६ मा ठेक्का सम्झौता भइ निर्माण सम्पन्न भएको छ,’ उनले भने ।

सोही वडास्थित उदय मावि र बाखे्र जोड्ने सोङगेखोला झोलुङ्गे पुल पहिलो चरणमा रु ३० लाख ४५ हजार १२२ मा निर्माण गरिएको छ ।  व्यास–७ सहीद गेट निर्माण रु १२ लाख ९१ हजार ९६१ मा निर्माण सम्पन्न भएको छ । व्यास–१० व्यास नगर कोभिड अस्पताल रु ९६ लाख ३८ हजार ८७६ मा सम्पन्न भएको छ । व्यास–११ शीतभण्डार निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  २२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update